विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री
काठमाडौं । प्यालेस्टिनी सैन्य समूह हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमा सहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको उल्लेख गरे।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल पुगेका थिए। तर, इजरायल प्यालेस्टाइन युद्धका क्रममा गत असोज २० गते हमासले गरेको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन लगायत थुप्रैलाई नियन्त्रणमा लिइएको थियो।













