सुदूरपश्चिममा विश्वासको मत नपुग्ने कांग्रेसको निर्क्योल

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मत नपुग्ने निर्क्योल गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने कि राजीनामा दिने भन्ने विषयमा निर्णय गर्न बिहीबार बिहान कांग्रेस संसदीय दलको बैठक बसेको थियो। विश्वासको मत लिने कि राजीनामा दिने भन्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको कांग्रेस सांसद प्रकाश बमले बताए।

संसदीय दलको बैठकपछि हिमालखबरसँग संक्षिप्त कुराकानी गर्दै सांसद बमले भने, “हाम्रो बहुमत पुग्ने देखिएन। त्यसैले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएका छौं।”

प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ। प्रदेश सभा सचिवालयले विश्वासको मतको तयारी गरेको छ।

नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा ९माओवादी केन्द्र०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्थाअनुसार, ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ सांसद छन्।

त्यस्तै, सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का सात सांसद छन्। उनीहरूमध्ये पाँच जना मन्त्री छन्। तर अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपा विभाजित छ। रञ्जिता पक्षका दुई सांसद सरकारलाई विश्वासको मत नदिने भएका छन्।

नाउपामा विवाद नदेखिएको भए मुख्यमन्त्री शाह विश्वासको मत पाउने आशामा थिए। प्रदेश सभामा रहेका राप्रपाका एक सांसद र एक स्वतन्त्र सांसद गरी २७ मत पुग्ने शाहको आकलन थियो। तर नाउपा नै विभाजित भए पछि विश्वासको मत नपुग्ने कांग्रेसले निश्कर्ष निकालेको हो।

त्यस्तै, गठबन्धनमा रहेका नेकपा ९माओवादी केन्द्र०का सभामुख सहित ११, नेकपा ९एमाले०का १० र नेकपा ९एकीकृत समाजवादी०का चार गरी २५ सांसद छन्। गठबन्धन पनि नाउपाका दुई सांसदलाई लिएर सरकार बनाउने योजनामा छ।