बिरालोको टोकाईपछि अस्पताल पुगेका डंगौराको मृत्यु
कैलाली । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौरालाई बिरालोले टोकेपछि सुई लागाउन अस्पताल पुग्दा मृत्यू भएको छ ।
डगौरा सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी गएकी थिई । मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डगौराको खुट्टामा नङले कोपरेको थियो ।
डगौरा पहिलो दोज चैत १५ गते नै रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले आफ्नो बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् ।
अस्पतालले आज ९२२ गते० उनलाई मृत घोषणा गरी आफन्तलाई शव बुझ्न अनुरोध गरे । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।
मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा हो । ठुलो घाउ वा चोट पनि थिएन । यो सरासर अस्पतालको लापरबाही हो । हामी शव बुझ्न सक्दैनौ ।’
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको दाबी छ ।













