स्वतन्त्र सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्रीको प्रस्ताव
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न आग्रह गरेका छन् । कैलालीको धनगढीमा वेद उप्रेतीको ‘ दुर्गम विस्मयलोक÷भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन तथा चर्चा गर्दै उनले जोशीलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई आउनुहोस् सँगै जाऔँ, एउटै क्याबिनेटमा आउनुहोस् बनाऔँ’ सुदूरपश्चिम मुख्यमन्त्री शाहले भने, ‘तपाईँको विद्वत्ता हामीलाई चाहिएको छ तपाईँको साथ हामीलाई चाहिएको छ यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौँ ।’

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाह अहिले अल्पमतमा परेका छन् । नागरिक उन्मुक्तिका सात मध्ये पाँच जनालाई मन्त्री नियुक्त गरिसकेका मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि मन्त्री प्रस्ताव गरेको चर्चा चलिरहेको थियो । सोमबार मुख्यमन्त्री शाहले कार्यक्रममै जोशीलाई सरकारमा आउन प्रस्ताव गरेका हुन् ।
उक्त कार्यक्रममा सांसद जोशी पनि सहभागी थिए । मुख्यमन्त्रीले आफ्नो मन्तव्यकै क्रममा उनलाई मन्त्री बन्न प्रस्ताव गरे पनि जोशीले अहिले सम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सुदूरपश्चिम प्रदेशका ५२ जना प्रदेश सभा सदस्य छन् । यहाँ बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८, नाउपाका ७ र स्वतन्त्र तथा राप्रपा जुटाएर बहुमतसिद्ध गर्ने मुख्यमन्त्री शाहको योजना रहेको छ ।













