थारू समुदायको इतिहास झल्किने कला प्रदर्शनी

पूर्वदेखि पश्चिमसम्मको थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा शुरू भएको छ।

पाटन संग्राहलयमा शुरू भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाईँलाई कस्तो छ ?’ शीर्षकमा प्रदर्शनीको नामकरण गरिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा होे।

थारू समुदायमा अभिवादन गर्ने फरक फरक तरिका छन्। पूर्वी नेपालका थारू समुदायको भाषामा ‘गोर लागैचियै’ तथा पश्चिमी क्षेत्रमा ‘रामराम, जय गुरुबाबा’ भनेर अभिवादन गरिन्छ।

प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डा। सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले यो प्रदर्शनी महत्त्वपूर्ण रहेको बताए। “मेचीदेखि महाकालीसम्म थारू समुदायमा विविधता छ,” ढकालले भने। भाषा, संस्कृति, खानपान ठाउँ अनुसार फरक फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिए।

थारू समुदायको संस्कृतिलाई उजागर गर्न प्रदर्शनी महत्त्वपूर्ण रहेको पाटन संग्राहलयकी निर्देशक मञ्जु सिंह भण्डारीले बताइन्। “थारू समुदायको संस्कृति वेषभूषा, कार्यशैली, दैनिक क्रियाकलाप झल्किने कला प्रस्तुत गरिएको छ,” भण्डारीले भनिन्, “यो हेरेपछि थारू समुदायमा पुगे जस्तै महसूस हुन्छ।”

थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनीको क्युरेटरमा वीरेन्द्र महतो, लवकान्त चौधरी, सन्जीव चौधरी, इन्दु थारू, अर्नव चौधरी, मारिया बोसर्ट र टोम रोर्बटशन छन्।

प्रदर्शनी आयोजना गर्न थारू एन्ड फ्रेन्डस् एशोसियशन यूएसए र फुलब्राइट नेपालले सघाएको छ। प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ। हिमालखबरबाट ।