कर्णाली नदीको पुलमा गुडिरहेको ट्रकमा आगलागी
धनगढी, २८ फागुन । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
नेपालगञ्जबाट कंचनपुर तर्फ आउदै गरेको लाईटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा आज अपरान्ह करीव ४ः३० बजे बर्दियाको ठाकुर बाबा नगरपालिका २ कर्णाली पुल नजिक अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
आगलागीबाट ट्रकसंगै त्यसमा रहेका लाईटरहरु जलेर नष्ट भएका छन् । पुलमा गुडिरहेकै समयमा ट्रकमा आगलागी हुदा पुलको तारहरुमा समेत क्षति पुगेको छ ।
ट्रक चालक जिल्ला कंचनपुर कृष्णपुर नगरपालिका ६ बस्ने ३२ वर्षीय चालक जगन्नाथ जोशीले चलाएको ना ५ ख ५२९७ नम्बरको ट्रकमा अचानक आगलागी भएको खबर प्राप्त हुना साथ छेउमै रहेको चिसापानी कैलालीबाट प्रहरी निरीक्षक हरिराम डागीको टोली आगलागी नियन्त्रणमा खटिएको छ ।
आगलागी नियन्त्रणमा लिन लम्कीचुहा नगरपालिकाबाट दमकलको सहायताले प्रहरीको टोली प्रयासरत छ । आगलागी नियन्त्रणको लागी घोडाघोडी नगरपालिकाको दमकल समेत बोलाईएको बताइएको छ ।













