भिरबाट लडेर कैलालीका प्रहरी जवान चौधरीको मृत्यु

दार्चुला । दार्चुलाको भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको प्रहरी कार्यालय पछाडी रहेको भीरबाट लडेर मृत्यु भएको हो । अन्दाजी ३० बर्षीय प्रहरी जवान चौधरीको घर कैलालीको कैलारी गाउँपालिका रहेको बताइएको छ ।

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षिय उमेश कुवरलाई अस्पताल लैजान खोज्दा हतकडी सहित भागेपछि उनलाई छोप्ने क्रममा लडेर टाउकोमा गम्भिर चोट लागेको थियो । घाईते चौधरीलाई उपचारकोलागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हतकडी सहित भाग्ने खोज्ने कुवरलाई अहिले प्रहरीले नियन्त्रणमा छ । कुवर यस अघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

आफ्नि श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो । घरमा पुगेका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि कुँवरले चक्कु प्रहार गरी घाइते बनाएका थिए ।