माओवादीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पार्टीका प्रदेश सभा सदस्य शिवसिंह ओलीले जानकारी दिए। नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा माओवादी केन्द्र सत्ता साझेदार थियो। कुल ५३ सदस्यीय प्रदेश सभामा सभामुख बाहेक माओवादीका १० प्रदेश सभा सदस्य छन्।

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेश सभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको केही महीनाअघि सवारी दुर्घटनामा निधन भएको थियो। प्रदेश सभामा नेकपा ९एमाले०का १०, नागरिक उन्मुक्तिका सात, नेकपा ९एकीकृत समाजवादी०का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन्।

सत्ता साझेदार नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले आज मध्याह्नसम्म सरकारमा रहने वा नरहने बारे कुनै निर्णय गरिसकेका छैनन्। यसअघि मंगलबार मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गरेका थिए।

यसअघि माओवादी आजै गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।