कांग्रेस सहितको गठबन्धन भत्किनु निरन्तरतामा क्रमभंगताः दाहाल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सहितको गठबन्धन भत्किनु निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। “माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो।”

काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ।” आफूले ठोस परिस्थितिको ठोस विश्लेषण गरेको उनको भनाइ छ।

आफूलाई अविश्वसनीय र अनुमान गर्न नसकिने भन्ने कुराको भने उनले खण्डन गरे। दाहालले भने, “देशका लागि म अनुमान गर्न नसकिने छैन र प्रतिक्रियावादीले उपयोग गर्न खोज्छ भने म कुनै पनि वेला लात्ताले हानेर निस्कन सक्छु।”