भारतमा बेचिएका २५ महिला तथा बालबालिकाको उद्धार

कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

भारतको पुनाबाट छ, मुम्बई र हिमाञ्चलबाट चार/चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन्।

उनका अनुसार दलालहरु खुला सीमानाकाको फाइदा उठाएर नेपाली महिला तथा बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई भारत लैजाने गरेका छन् ।

“खुला सीमा प्रमुख चुनौतीका रुपमा छ, गरिब, बेरोजगार महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर दलालहरु नाका कटाउने गरेका छन् ।” पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि दलालहरु सक्रिय भएको भट्ट बताउँछिन् ।

माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम पनि गर्दै आईरहेको छ । माइति नेपालको तथ्यांक अनुसार एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको हो । जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरि उनीहरुलाई मनोसामाजिक परामर्श प्रदान गर्ने तथा पारिवारिक पुनर्मिलन गराउने गरेको संयोजक भट्टले बताइएन् ।

माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ । साथै एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराएको छ । संस्थामा खोजनीतिकोलागि एक सय ७१ निवेदन दर्ता भएका छन् । जस मध्ये ४९ जना भेटिएका छन् ।