अब कर्णालीको पानी लम्की चुहावासीको घरदैलोमा

कैलाली । कर्णाली नदीको पानी कैलालीको लम्की चुहा नगरपालिकावासीको घरदैलोमा पुयाउने कार्य अगाडि बढेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीको ७० प्रतिशत, लम्की चुहानगरपालिकाको ५ प्रतिशत र बाँकी २५ प्रतिशत उभोक्ताको गरी ९० करोडको लागतमा लम्की चुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो ।

आयोजनाको शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गरे । उनले अब लम्की चुहा नगरपालिकाबासीको आगनमा कर्णालीको पानी छ्टिटै पुग्ने बताए ।
मुख्यमन्त्री शाहले भने, ‘यहाँ खानेपानी आयोजना नभएको होइन । तर केही समस्या आउने भएको कारणले कर्णालीको पानी ल्याइ लम्कीवासीलाई स्वच्छ खानेपानी पु¥याउन लागेका हौं ।’

सो आयोजनाले १३ हजार घरधुरीलाई लाभान्वित बनाउनेछ । आयोजनालाई दुई खण्डमा निर्माण गरिने सर्तमा काम अगाडी बढेको हो । पहिलो खण्डको निर्माणको लागि शिलान्यास भईसकेको मन्त्री शाहले जानकारी दिए ।

लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेका अनुसार पहिलो चरणको निर्माणको लागि १४ करोड ७७ लाख ९६ हजार १२७ रुपैयाँमा टेन्डर भई निर्माणको कार्य अगाडि बढाइएको हो ।

पहिलो चरणमा आयोजनाको लागि ५ वटा सब बेल, साढे ४ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, ३५ सय मिटर मेनलाइन पाइप विस्तारको कार्य हुनेछ । त्यस्तै, साढे ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी र आयोजनाको कार्यालय भवन निर्माण कार्य पहिलो चरणमा गरिने संस्थाका अध्यक्ष चलाउनेले जानकारी दिए ।

आयोजनाको दोस्रो खण्ड निर्माणको कार्य पनि अगाडि बढ्ने जनाइएको छ । केही महिनामै टेण्डर आह्वान भई कार्य अगाडि बढाइने बताइएको छ । आयोजनाको दोस्रो खण्ड अन्तरगत २ वटा ओभरहेड ट्यांकी निर्माणसँगै उपभोक्ताको घर घरमा पाइपलाइन विस्तारको कार्य हुने जनाइएको छ ।

लम्कीस्थित बल्चौर मुक्तकमैया बस्ती र बादी बस्तीको लागि २ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिने वितरणको कार्य थाल्ने बताइएको छ । आयोजनाको पहिलो खण्डको कार्य १८ महिनामा पूरा हुने र दोस्रो खण्डको कार्य टेण्डर आह्वानपछि मात्रै यकिन हुने बताइएको छ ।

आयोजनाले स्थानीयमा खुसीयाली

खानेपानी आयोजना बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

लम्की चुहानगरपालिका ३ का वडाध्यक्ष लव बहादुर शाहीले जनताले पानी दिने समस्या पुरा भएको बताए । उनले सबै मिलेर आयोजनालाई मुर्तरुप दिनमा लाग्नुपर्ने बताए ।

त्यस्तै, लम्की चुहा नगरपालिका १ का वडाध्यक्ष नेत्र प्रसाद खनालले आफूहरुको लामो समयको मेहनतले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कर्णालीको पानी लम्की वासीलाई खुवाउनुपर्छ भनेर लागियो । ३ पटकसम्म त सर्वे नै गरियो । जे होस ढिलै पनि परियोजना आयो । यसमा सबैको प्रयास छ ।’