चैते धानको बिउ छर्न शुरु

कैलाली । भजनी नगरपालिका–७, हिम्मतपुरका किसानहरु चैते धानको बिउ छर्न शुरु गरेका छन् । समयमै रोपेर मनसुन सुरु हुनुभन्दाअगाडि नै बाली भित्रियाउन उनीहरु माघको अन्तिम सातादेखि नै बिउ उमार्न शुरु गरेका हुन् ।

मनसुन सुरु हुनुभन्दा पहिले नै धान भित्रियाउनलाई फागुनको अन्तिम साता वा चैतको पहिलो हप्तामै धान रोप्नुपर्छ । जसकोलागि माघमै बिउ उमार्नु पर्छ । माघमा शीतलहर चल्ने र तापक्रम घट्ने भएकाले बिउ उमार्न निकै मेहनत गर्नुपर्ने किसानहरु बताउँछन् । उनीहरुका अनुसार यतिबेला बिउ अङ्कुराउन आवश्यक पर्नेभन्दा तापक्रम कम हुन्छ । जसले गर्दा धानको बिउ उमार्न निकै कठिन छ । त्यो भन्दा बढी बिउ जोगाउ ।

हिम्मतपुरका किसान जयराम डगौराका अनुसार पानीले भिजाएको बिउ माघ १९ गते गोबर मलको थुप्रोमा गाडेर राखिएको हो, बिउ अङ्कुराउन चाहिने तापक्रम प्राप्त गर्न मलको थुप्रोमा बिउ गाड्नु पर्छ । मलको थुप्रोमा गाडेको तीन दिनपछि अङ्कुराएको बिउ ब्याडमा छर्नुपर्ने हुन्छ । ब्याडमा छरेको बिउ टुसाउँदै छ ।

खेतमा बिउ छरेपछि चराचुरुङ्गी खान आउछन् । उनीहरुलाई धपाउन खेतमै कुरुवा भएर बस्नुपर्छ । बिउ जोगाउन सजिलो होस् भनेर चार वटा परिवारको बिउ एकै ठाउँमा राखिएको र हरेक दिन दुई जनाले कुर्ने पालो मिलाएको शिवराम डगौरा बताउँछन् ।

उनले फागुनभित्रै रोप्न सके आउँदो जेठको २५ गते धान पाकेर भित्रियाउन सकिने बताए । भजनी नगरपालिकाको छ वटा वडामा करिब सात सय हेक्टरमा चैते धान रोप्ने गरेको नगरपालिकाको तथ्यांक छ ।

यो क्षेत्र वर्षाको बेला डुवान पर्छ । जस कारण यहाँका किसानहरु वर्षे बाली भित्रियाउन पाउँदैन् । यहाँका किसानहरु चैते धान नै फलाएर खाद्यान्न आपूर्ति गरिरहेको नगरपालिका कृषि शाखाका प्रमुख तथा नायब प्राविधिक सहायक कमलप्रसाद चौधरी बताउँछन् ।