बोक्सीको आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो

विराटनगर । बोक्सीको आरोपमा मोरङ स्थित बूढीगंगा गाउँपालिकाकाका एक महिलालाई यातना सहित मलमूत्र खुवाएको छ । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएको बताइएको हो ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा ५० वर्षीया पारो माझी रहेकी छिन् । उनी गाउँकी धामी हुन् ।

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।

पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको दाहालले बताए ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।