कञ्चनपुरदेखि काठमाडौं हिडेका बस कपिलवस्तुमा दुर्घटना, ज्यान गुमाएका दशै जनाको सनाखत

कैलाली । कञ्चनपुरदेखि काठमाडौं हिडेका बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार मृत्यु हुनेमा रौतहटको औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारतको उत्तरप्रदेशस्थित मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त १६ का सञ्जु थापा र पुनरवास नगरपालिकाका किन भट्टको दुर्घटनामा ज्यान गएको छ। यसैगरी, भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, भीमदत्त २ का सुदीप भट्ट र पुनरवास ९, बिसफाटाकी विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु प प्र-०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते छन् ।

उनीहरूमध्ये नौ जनालाई बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।