माओवादी केन्द्रको विधान सम्मेलन, १२ सय प्रतिनिधि सहभागी

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुने भएको छ ।

बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जानकारी दिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सय जना प्रतिनिधिको सहभागि हुने पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो।

सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए। समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो।