‘छोरीलाई अंश र बंशमा समान अधिकार’ अभियान कैलालीमा शुरु
कैलाली । संविधानले छोरा र छोरीलाई समान व्यवहार र समाज हकको व्यवस्था गरिएको छ । तर सामाजिक संरचनाको कारण छोरा छोरीबिच विभेद कायम कायमै रहेको अधिकारका क्षेत्रमा काम गर्नेहरुके बताउँछन् ।
कैलालीमा कार्यरत संघसंस्था र अधिकारकर्मीहरुको संयूक्त पहलमा ‘छोरीलाई अंश र बंशमा समान अधिकार’ अभियान कैलालीमा शुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत पंकजा जोशीले श्रमिक महिला दिवशको अवसरमा कैलालीबाट सो अभियान शुरु भएको बताईन् ।
संविधानको धारा १८ समानताको हक उपधारा ५ मा पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना सबै सन्तानको समान हकको व्यवस्था छ । त्यसै गरि धारा ३८ को उपधारा १ प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हकको व्यवस्था छ । तर अहिले सम्म त्यो व्यवस्था कार्यन्वय भने नभएको जोशीले बताईन् ।

उनले सो व्यवस्था कार्यन्वयनकोलागि सम्बन्धित निकायलाई दबाब दिन शुक्रबार नगरपालिकाको मिटिंग हलमा बैठक बसी अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिईन् । अभियानले कैलाली जिल्लामा कार्यन्वय गरेका अभिभावकलाई सम्मान समेत गर्ने उदेश्य राखेको छ ।
मुलुकी देवानी संहिता दफा २०५ मा छोरीलाई अंशियार मानेको छ । सन्तान समान हुनका लागि यी हकहरुको प्रयोग अनिवार्य रहेको महिला अधिकारकर्मी गोमा अर्चाय बताउँछिन् ।
छोरीलाई दयाले होइन सम्मानसाथ आफ्नो वंश स्वीकार्न सके संसार सुन्दर हुनेछ । त्यसैले आजबाट अभियानमा जोडौं अरु होइन, म र हामीबाट सुरु गरौं ।













