कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल बन्दै
कैलाली । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुन लागेको छ । कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा अस्पताल निर्माण भईरहेको छ ।
हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले बताए । उनका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
“सकेसम्म चैतभित्र हस्तान्तरण गरेर चालु आर्थिक वर्षको मसान्तबाट अस्पताल चलाउने लक्ष्य रहेको छ,” चन्दले भने । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १८ करोड ५२ लाख रहेको छ ।
यो अस्पताल सञ्चालनमा आएसँगै कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा ठुलो राहत हुने छ । अस्पताल नहुँदा जनता उपचारका लागि धनगढी वा प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुर र भारत पुग्ने गरेका छन् । अस्पताल निर्माणका लागि २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग निर्माण ठेक्का सम्झौता भएको थियो ।













