एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउन पाइन्दैन : पूर्व प्रधानमन्त्री नेपाल
टीकापुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था स्वीकार्य नहुने बताए ।
कैलालीको टीकापुरमा बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेपनि अब राजतन्त्र फर्किने सम्भावना रहेको बताए ।
उनले भने, ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ । केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’
उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’
उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन ।’ नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रुपमा नरहेको समेत बताए ।
‘सबै समुदायको बिचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’ नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन् । त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’
आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत बताए । सेती लोक मार्ग, रानिजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।
त्यसै गरि जनमत पार्टीका अध्यक्ष सिके रावतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताए । माओवादी गरेको जनयुद्धलाई सङ्केत गर्दै उनले भने ‘यहाँहरूले हजारौँ हजारको घाटी काट्दा केही हुँदैन हामीले अधिकार माग्दा जन्मकैद हुन्छ त्यो कस्तो अधिकार हो हाम्रो हो ?’ उनले भने ।
नेपाल भित्र बोलिने सबै पहिचान र भाषालाई सम्मान गर्नु पर्नेमा उनले जोड दिए । तर, सरकारबाटै विभेद हुने गरेको रावतको आरोप थियो ।
महाधिबेशन तीन दिनसम्म चल्लने आयोजकले जनाएको छ ।













