‘थारु होमस्टेमा रहेका थुप्रै चिजलाई ब्राण्डको रूपमा विकास गर्न आवश्यक’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समुदायको पहिचानसंग सम्बन्धित संस्कृति तथा रीतिरिवाज जोगाउनमा होमस्टेको महत्त्वपूर्ण भुमिका रहने बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमले कैलालीको थारु होमस्टे गाउँ भादामा आयोजना गरेको थारु होमस्टे प्रवर्द्धनमा पत्रकारको भूमिका कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

होमस्टे विशेष गरेर थारु समुदायसँग जोडिएले यसलाई अगाडि बढाउन प्रदेश सरकार होमस्टे सञ्चालकहरूसँग छलफल तथा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

बरघर, भलमन्सालाई अगाडि बढाउन सुदूरपश्चिम प्रदेश सरकारले बजेट छुट्टयाएको बताउँदै मुख्यमन्त्री शाहले राज्य र पत्रकारबिच विश्वासको वातावरण बन्न नसकेमा मुलुक अगाडि बढ्न नसक्ने बताए ।

उनले भने, “पत्रकारले खेल्ने भूमिकाले ठुलो अर्थ राख्दछ । त्यसैले तपाईँहरूको सकारात्मक भूमिकालाई अझ बुलन्द बनाउनुहोस् ।”

धनगढी उपमहानगरपालिकाका–१६ का वडा अध्यक्ष रामलाल चौधरीले पर्यटन विकासका लागि सबैभन्दा पहिले बाटो आवश्यक रहेको बताए । उनले सबै समस्या समाधानका लागि सरोकारवाला सबै निकायले गरेको प्रतिबद्धता अक्षरशः पालना गर्न आवश्यक रहेको औँल्याए ।

यसैगरी, होमस्टे (घरबास) महासङ्घ नेपालका उपाध्यक्ष लक्ष्मीनारायण चौधरीले होमस्टेले गरिबी निवारणमा सहयोग गर्ने गरेकाले होमस्टेको विकासमा प्रदेश सरकारले सहयोग गर्न आवश्यक रहेको बताए । धेरैले होमस्टे सञ्चालन गर्न खोजे पनि राज्यको सहयोग नहुँदा लगानी गर्न नसकेर पछाडि हट्ने उनको तर्क थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारुहरूको पहिचान, संस्कृति, संस्कारलाई उजागर गर्न यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका हुने बताए ।

थारु होमस्टेमा रहेका थुप्रै चिजलाई ब्राण्डको रूपमा विकास गर्न सकिने भए पनि राज्यको लगानी शून्य हुँदा ब्राण्ड बन्न नसकिरहेको नेपाल आदिवासी जनजाति पत्रकार महांघका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले बताए । मठ मन्दिरमा राज्यको लगानी देखिए पनि थारु समुदायको गाउँ र पुस्ताको जीवनसँग जोडिएको देउथान उपेक्षामा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव चौधरी, थारु विद्यार्थी समाजका ठाकुर करिया प्रधान चौधरी, सुदूरपश्चिम प्रदेश होमस्टे (घरबास) महासङ्घका अध्यक्ष दिनेश दहित लगायतले मनतव्य व्यक्त गरेका थिए ।