सुन्तलाले चिनिदै चुरे गाउँपालिका, वार्षिक २५ करोडको कारोवार
कैलाली । सुन्तलाले धपक्क बलेको गाउँमा आजभोली बजार क्षेत्रका ठूला ठूला व्यपारीहरु गाडी हुईकाउँदै आईपुग्छन् । जहाँ किसान र व्यापारी बिच सुन्तला बारीमै मुल्य तोक्छन् र गाडीभरि सुन्तलाको भारी लिएर बजार आईपुग्छन् ।
यो दृष्य हो चुरे गाउँपालिका १ खेरा गाउँको । ४२ घरधुरी रहेको गाउँमा १ लाखदेखि ३० लाख सम्मको कारोबार गर्ने किसानहरु छन् । यहाँका किसानहरुको मुख्य आयस्रोत नै सुन्तला खेति हो । उसो त त्यो गाउँपालिका नै सुन्तलाको पकेट क्षेत्रकोरुपमा चिनिएको छ ।
पालिकासंग जोडिएको खेरा गाउँका किसान लालसिंह धामीले ५ रोपनी १२ आनामा सुन्तला खेति गर्छन् । बझांग घर भएका धामी २०७३ पुस ७ गतेका दिन ७० लाख रुपैयाँमा त्यो बारी किनेको सुनाए ।
उनी अहिले २५० बोट सुन्तला रोपेका छन् । जसमध्ये २०० बोटमा फल लागेको छ भने ५० वोट हुर्किदै छ । बारीमा ८०/८५ कुन्टल सुन्तला फलेको उनी बताउँछन् ।
उनी भन्छन् ‘अहिले सुन्तलाको सिजन हो । बजारबाट व्यापारीहरु आउँछन् र छानी छानी सुन्तला लैजान्छन् ।’ उनका अनुसार छानेर लगेपछि प्रति केजी १०० रुपैयाँमा दिन्छौं । सानो ठूलो सबै लग्यो भने ७५ रुपैयाँ केजी दिन्छौं ।
धामीले ५८ कुन्टल सुन्तला घरमै बसी बसी बिक्री गरिसकेका छन् । अब उनको बारीमा २५ कुन्टल जति सुन्तला बेच्न बाँकी छ । सुन्तलाको सिजनमा उनी ७ लाख सम्मको विक्री गर्ने गरेको बताए ।
सुन्तला वर्षको एक पटक मात्रै फल्छ । त्यसैले धामी अन्य सिजनमा तरकारी खेति र किबी खेतिको पनि शुरुवाट गरेका छन् । उनले तरकारी खेतिबाटपनि बार्षिक १ लाख सम्मको विक्री हुने बताउँछन् ।
सुन्तलाबेचेर ६ वर्षको अवधिमा बारीको मुल्य निस्किसकेको उनले बताए । छोरा बुहारी दुई नाती र श्रीमान श्रीमति गरि छ जनाको परिवारलाई यहि बारीबाट खाना लाउन पुगेको छ । धामीले भने ।
उनीहरुको परिवारमा अन्य रोजगारीको कुनै आवश्यता छैन । आफ्नै बारीमा भ्याई नभ्याई हुन्छ । बढी जसो उनको छोरा बुहारी नै गोडमेल, काटछाट र मलजल गरिरहेका हुन्छन् । सुन्तलाको बोटलाई जति राम्रोसंग स्याहर्न सक्यो त्यति नै राम्रो फल दिने उनको अनुभव छ ।
सोही गाउँका देवराज सापकोटाले ७०० बोट सुन्तला रोपेका छन् । उनको बारीमा ५०० बोट सुन्तलामा फल लागेको छ भने बाँकी हुर्किदैछ । सापकोट बार्षिक २५ लाख रुपैयाँसम्मको सुन्तला बेच्ने गरेका छन् ।
सापकोटाको छिमेकी रमेश कडेलले पनि ३०० बोटमा सुन्तला फलाएका थिए । प्रति बोटमा ५० केजी सुन्तला फलेको कडेल सुनाए । उनले प्रति केजी ८० रुपैयाका दर सबै सुन्तला बेचिसकेका छन् । यो वर्ष उनले १२ लाख रुपैयाको कारोबार गरे ।
उनी भन्छन् ‘सुन्तला खेतीमा त्यति धेरै खर्च आउँदैन । गोडमेल मलजल र काटछाट गर्दा वार्षिक ५० देखि एक लाख रुपैयाँ सम्म खर्च हुन्छ । सुन्तला वर्षमा एक सिजन मात्रै फल्ने भएको हुँदा सुन्तला खेतीमा मात्रै भर पर्नुभन्दा पनि सबै किसानले तरकारी खेती गर्न आवश्यक छ ।’
कडेलका अनुसार किसानहरुलाई उत्पादन भएको सुन्तला बेच्न बजार खोज्नु पर्दैन । व्यपारीहरु हामीलाई खोज्दै आउँछन् । जुन कारण यहाँका किसानहरु उत्साहित छन् । तर पछिल्लो एक दुई वर्ष यता समयसंगै सुन्तलामा विभिन्न किसिमको नयाँ नयाँ रोगहरु देखिएको छ ।
‘हाम्रो गाउँ पालिकासंग जोडिएकोले सुन्तलामा केही समस्या देखिएपछि पालिकामा रहेको कृषि शाखाका विज्ञहरुलाई बोलाएर सरसल्लाह माग्छौं । तर उहाँहरुलाईपनि उपचारको बारेमा त्यति जानकारी छैन ।’
चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले चुरे गाउँपालिका अहिले सुन्तलाले चिनिएको बताउँछन् । उनका अनुसार पालिकामा उत्पादन भएका सुन्तला यहाँको किसानहरुको प्रमुख आयस्रोत हो ।
‘यो वर्ष पालिकाबाट २५ करोडको सुन्तला बाहिर पठाएका छौं । यहाँका हरेक किसानहरु सुन्तला खेतिबाट १ लाखदेखि ३० लाख रुपैयाँसम्म कारोवार गर्ने गर्दछन् ।’ यो पालिकामा साविक सहजपुर, निगाली खैराला गाविस पर्दछन् । यी ठाउँ सुन्तललाकोलागि उपयूक्त छ । कुल क्षेत्रफल ४९३.१८ वर्ग कि.मि. रहेको चुरे गाउँपालिकामा ३,४७८ घरधुरी छ ।
सुन्तलामा देखिएको अन्तराष्ट्रिय समस्या सेन्ट्राईस भन्ने रोग यहाँपनि देखिएकोले आफूहरु चिन्तित रहेको बताए ।
सुन्तलाको बोटमा सेन्ट्राईस रोग लाग्यो भने बोट नै सुकेर जान्छ । यो रोगको औषधी नेपालमा अहिलेसम्म फेला नपरेको अध्यक्ष बोगटी बताउँछन् ।
पलिकाले किसानहरुको सहज पहुचकोलागि प्रत्येक वडामा भेटनरी स्थापना गर्ने तयारीमा जुटेको छ । साथै यहाँ किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन नर्सरी तथा बेर्ना उपलब्ध गराईरहेको छ । माटो परिक्षणका लागि प्रयोगशाला निर्माणको तयारीसंगै माछा पोखरी, मासुजन्य व्यवसायी लगायत तरकारीको बीउहरु वितरण गर्दै आईरहेको छ ।













