पर्यटक भित्रियाउन थारु होमस्टेमा महोत्सव
कैलाली । सुदूरपश्चिम प्रदेशमा स्थापित थारु होमस्टे गाउँ भादाले आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उदेश्यले महोत्सवको आयोजना गरेको छ । महोत्सव स्थिल भित्र थारु महिलाहरु आफ्नै कलासंस्कृति अनुसार थारु पहिरनमा सजिएर थारु परिकारको प्रवद्र्धनपनि गर्दै आईरहेका छन् ।
कैलालीको भादा गाउँ आदिवासी थारु समुदायको कला, संस्कृति, खानपान, भेषभुषाको केन्द्र बिन्दु बनिसकेपनि चाहे अनुसार पर्यटक भित्रियाउन निकै चुनौती रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नारायण चौधरीले बताए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँ थारु समुदायको बसोबासले थारु समुदायका हरेक वस्तुस्थिति, चालचलनको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा जुटेको छ । ‘हामी यस्तो पहिचानको खोजीमा जुटेका छौ, जहाँ थारुको अवशेष लुकेको छ । हाम्रो होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चलहपहल बढोस् भन्ने उदेश्यले महोत्सवको पनि आयोजना गर्दै आईरहेका छौं ।’
वि.स. २०६८ सालमा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति विधिवत दर्ता गरी स्थानीयहरु रैथाने कला, संस्कृति, भेषभुषा र खानपानको संरक्षण तथा सम्वद्र्धनमा जुटेका हुन् ।

स्थानीयहरु विभिन्न टोली बनाएर, सखिया नाच, झुम्रा नाच, मघौटा नाच, लाठी नाच प्रदर्शन संगै मागर, ढमार, बर्कीमारलगायत लोक लयको भाका समेत प्रस्तुत गर्दछन् ।
महोत्सवमा परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी,मुख्य आकर्षण रहेको महोत्सव स्थलमा व्यवसायी गर्दै आईरहेकी एलिसा बखरिया बताउँछिन् ।
उनी हरेक वर्षको महोत्सवमा स्थलमा थारु परिकार राखेकी हुन्छिन् । महोत्सव स्थिल भित्र अहिले घोँघी सबै भन्दा बढी विक्री भईरहेको उनको भनाई छ । उनको स्थलबाट महोत्सवको पहिलो दिनमै १० हजार बराबरको घोँघी बिक्रि भएको छ ।
पछिल्लो केही वर्ष यता थारु गाउँमा घोँघी लोप हुने अवस्थामा पुगिसकेको छ । सुदूरपश्चिममा घोँघी खोतीलाई व्यवसायीकरुपले अगाडी बढाउने कुनै योजना नरहेकोले घोँघी पाउँन मुस्किल भईसकेको एलिसा बताउँछिन् ।
भादामा पर्यटकहरुलाई लक्षित गरी १९ घरमा होमस्टेको व्यवस्था भएको छ । होमस्टेमा चाहे अनुसारको खानपान, बसोबास, मनोरञ्जनको व्यवस्था हुन्छ । धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चहलपहल कायम राख्न महोत्सव सञ्चालनको विकल्प खोजेको अध्यक्ष चौधरी बताउँछन् ।
यो भन्दा पछि स्थापना भएको बर्दियाको डल्ला र पूर्वी नवलपरासीको अमलटारी होमस्टेमा राम्रो व्यापार भइरहेको छ । भादा होमस्टेमा पर्यटक बढ्न नसक्नुको मुख्य कारण बाटोको समस्या र सेवा सुविधाको अभाव रहेको अध्यक्ष बताउँछन् । ‘धनगढीबाट दूरी छोटो भए पनि बाटो अझै राम्रो बनिसकेको छैन । बाटोको समस्याका कारण धेरैभन्दा धेरै मान्छे भादासम्म पुग्दैनन् । यातायातको पनि समस्या छ ।’
भादा होमस्टेमा पर्यटक भित्र्याउन स्थानीय सरकार पनि अग्रसर छ । अधिकतम पर्यटक भित्र्याउन प्रयास गरिरहेको वडा अध्यक्ष रामलाल चौधरीले बताए । ‘हामीले होमस्टेको प्रवर्धनका लागि बजेट पनि छुट्ट्याइएका छौँ । थारु समुदायको संस्कृति, पहिचान र प्रकृति जोगाउनु पर्छ भनेर वडाले सहयोग गर्दैआएको छ ।’
२७५ घरधुरी रहेको भादागाउँमा १७ घरबाट होमस्टे सुरु गरिएको थियो । १३ वर्ष पुग्दासम्म दुई घरमा मात्रै होमस्टे थप भएको र हाल १९ घरपरिवारले होमस्टे चलाइरहेका छन ।
उनका अनुसार विविध चुनौतीका बाबजुद १३ वर्षको अवधिमा करिब ३५ हजार आगन्तुकले थारू होमस्टे गाउँ भादाको अवलोकन गरेको छ । जसमध्ये करिब ४०० विदेशी पर्यटक रहेको अध्यक्ष चौधरीले बताए ।













