आर्थिक अभावले अलपत्र थारु सांस्कृतिक संग्रहालय
दाङ । डेढ दशकअघि स्थापना भएको घोराहीस्थित थारु सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण अलपत्र परेको छ भने सांस्कृतिक पहिचान झल्किने सामग्री नष्ट हुँदै गएका छन्।
थारु समुदायको संस्कृति र पहिचान झल्काउने सामग्री संग्रहित गर्न २०६६ सालमा दाङको घोराही उपमहनगरपालिका-१७, स्थित पनौरा गाउँमा थारू सांस्कृतिक संग्रहालय स्थापन गरियो।
संग्रहालय हेर्न छरछिमेकका जिल्लाका बासिन्दा पनि आउन थाले। गाउँमा चलहपहल बढेको थियो। “संग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाहय पर्यटक आउथे। टिकट काटेरै हेर्थे,” स्थानीय तेजमान चौधरी भन्छन्, “एकदम खुशी भएका थियौं। गाउँघरमा व्यापार व्यवसाय पनि बढ्न थालेको थियो।”
यो खुशी धेरै समय टिकेन। थारु कल्याणकारिणी सभाका तत्कालीन अध्यक्ष फूलमान चौधरी, अशोक चौधरी लगायतको अगुवाइमा संग्रहालय स्थापना भएको थियो। फूलमान अध्यक्षको कार्यकाल सकिएपछि निष्क्रिय भए भने अशोकको निधन भयो।
त्यसपछि आर्थिक अभाव हुँदै जाँदा संग्रालय बन्द भयो। “चार-पाँच वर्षदेखि संग्रहालय खुलेको पनि छैन,” तेजमान भन्छन्, “संग्रहालयभित्र रहेका सामग्रीमा ढुसी लागेर कुहिन थालेका छन्।”

संग्रहालयमा थारु समुदायको पहिचान भल्किने बिभिन्न सामग्री राखिएका छन्। माटाका भाडाँकुडा, मौलिक वेषभूषा, गरगहना, खेतिपातीमा प्रयोग गरिने छत्री, हलो, जुवा, कोदाली, माटाको डेहरी, कुठ्ली, भोक्टी, तरकारी चलाउने काठको डाडु, कर्छुल लगायत संग्रहित छन्।
त्यस्तै, खटिया, खटौली, विभिन्न किसिमका बस्ने बेर्री, लुगा राख्न प्रयोग गरिने ढकिया, ढक्या, अठ्री, ढच्या, गोन्द्री, पटकी लगायतका सामग्री पनि संग्रहालयमा छन्। दाङदेखि बुह्रान ९बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत० मा बसाइसराइ हुने वेलाको झल्को दिने काठ्का मूर्ति पनि राखिएका छन्।
संग्रहालय संरक्षणको नेतृत्व थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी आर्थिक अभावले संग्रहालय सञ्चालन गर्न नसकिएको बताउँछन्। यसको संरक्षण र सम्बर्द्धनका लागि तीनै तहका सरकारसँग आग्रह गरे पनि सहयोग नपाइएको अशोकको गुनासो छ। “संग्रहालय पुनः सञ्चालनका लागि २५-३० लाख रुपैयाँ चाहिन्छ,” उनी भन्छन्, “तीनै तहका सरकारले सहयोग गरेनन्। हामीले स्थानीय स्तरबाट जुटाउन सक्ने अवस्था भएन।”

सभाले लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र पनि बुझाएको उनी बताउँछन्। प्रदेश र संघीय सरकारले सहयोग नगरे पनि उपमहानगरले भने यो वर्ष पाँच लाख विनियोजन गरेको घोराही-१७ का वडाध्यक्ष रामलौटन चौधरी बताउँछन्।
स्थानीय सरकारले छुट्याएको पाँच लाखले संग्रहालय सञ्चालन गर्न कठिन भएको कल्याणकारी सभाका अध्यक्ष अशोक सुनाउँछन्। ‘बल्लतल्ल घोराही उपमहानगरले पाँच लाख बजेट बिनियोजन गरेको छ, तर पाँच लाखले के काम गर्ने भन्ने अलमल परेका छौं,” उनी भन्छन्।
आर्थिक अभावले संग्रहालय बन्द रहेको विषयमा हिमालखबरले गरेको प्रश्नमा घोराही उपमहानगरका मेयर नरुलाल चौधरी यसअघि थारु कल्याणकारिणी सभाले समन्वय नगरेका कारण सहयोग गर्न नसकिएको बताउँछन्।
यो वर्ष पाँच लाख छुट्याएको बताउँदै उनी भन्छन्, “कला, संस्कृति नै स्थानीय सरकारका सम्पत्ति हुन्। हरेक समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न सहयोग गर्छौं। यो संग्रहालय सञ्चालनका लागि पनि सहयोग गर्नेछौं।” हिमालखबरबाट ।













