सुदूरपश्चिम महोत्सव : आकर्षणको केन्द्र विन्दु थारू गाउँ
धनगढी, २९ मंसिर । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा आकर्षणको केन्द्र विन्दु थारू गाउँ बनेको छ । थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ राखिएको थारू गाउँ स्थल प्रदर्शनीमा दर्शकहरुको घुँइचो हुन्छ ।
उक्त स्थलमा थारू समुदायमा प्रचलित विभिन्न सामाग्रीहरु राखिएको र थारू गाउँका बारेमा जानकारी दिने उदेश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको प्रदर्शनीका संयोजक हेमन्त चौधरीले जानकारी दिए ।
उनका अनुसार थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था छ । घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँग रमाउन सकिन्छ । प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास छ ।
उनले भने, “हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन् । त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो ।”
प्रदर्शनीमा थारू सङ्ग्रहालय देखाउन खोजिएको हो । सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने सामाग्री छन् । चिटिक्क परेको माटोको घर छ । त्यहाँ भित्र ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री राखिएको छ । डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा पनि तयार पारिएको छ ।
थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाएको संयोजक चौधरी बताउँछन् ।













