सुदूरपश्चिम महोत्सव भोलिदेखि, उद्घाटनमा प्रधानमन्त्री दाहाल आउने

धनगढी, २१ मंसिर । विगत लामो समयदेखि सञ्चालनमा आईरहेको सुदूरपश्चिम महोत्सव यो वर्षपनि हुदैछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउने भएका छन् । अध्यक्ष कुँवरले भने, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य संघले पनि यसक्षेत्रका व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछन् ।’’

अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको बताए । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका मागहरुको बारेमा जानकारी गराउने संघको तयारी छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवस्थलमा चार सयवटा व्यावसायिक स्टल रहेको छ । महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने साथै १० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।

महोत्सवमा व्यावसायिक कृषि तथा स्थानीय कला, संस्कृतिको प्रदर्शनलाई प्राथमिकता दिइने अध्यक्ष कुँवरले बताए । १७ वर्षदेखि बर्सेनि हुँदै आएको महोत्सवले यहाँको कृषि, कला, संस्कृतिसँगै सुदूरपश्चिमका सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

महोत्सव अवलोकन गर्न विद्यार्थीका लागि रु. ५० टिकटदर राखिएको छ भने सर्वसाधारणका लागि रु.१०० । अपांगता भएका व्यक्तिकोलागि भने प्रवेश निःशुल्क छ ।