मुक्त कमैया बस्तीका १२ परिवारलाई सुरक्षित आवास

सुखड १२ मंसिर । कैलालीको घोडाघोडी नगरपालिका–३ सृष्टिनगर मुक्त कमैया बस्तीका १२ परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ । दुई वटा पक्की कोठा र शौचालय सहित आवास पाउँदा सो परिवार खुशी भएका छन् ।

वडाको विशेष समन्वयमा घोडाघोडी नगरपालिकाको ४२ लाख, सुरक्षित आवास परियोजना ह्याविट्याट राष्ट्रिय दलित नेटवर्क नेपाल बाट २४ लाख रुपैयाँको लागतमा आवास निर्माण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत विपन्न समुदायको उचित बसोबासकालागि आवास निमार्ण गरिएको बताए । उनले अवाससंगै शिक्षा, स्वास्थ्य, खानेपानी, तथा सिँचाईको पनि सुविधा हुने बताए ।

कार्यक्रममा उप प्रमुख गुलिया कुमारी चौधरीले सुकुम्वासी, आदिवासी र पिछडा वर्गको जीवन स्तर उकास्न नगरपालिका तयार रहेको बताईन् । पालिकाले सीपमूलक स्वरोजगार कार्यक्रम ल्याएको बताउँदै उत्पादन र स्वरोजगारमा सबैले हातेमालो गर्नुपर्ने अनुरोध गरिन् ।