भूकम्प प्रभावित सुत्केरीको चिसोले मृत्यु
जाजरकोट, ११ मंसिर । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी एक सुत्केरीको मृत्यू भएको छ । नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो ।
स्थानीय टेकबहादुर नेपालीले गए राति चिसोबाट चदाराको मृत्यु भएको जानकारी दिए। चदारा सुत्केरी भएको करिब एक महिन भएको थियो ।
नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले पनि चदराको मृत्यु भएको बताए । “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ,” वडाध्यक्ष सिंहले भने।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए। भूकम्पले २६ हजार ५५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार ४५५ घर आंशिक रूपमा क्षति भएको छ।













