धनगढीमा आगलागी: लगभग १८ करोडको क्षति

कैलाली, २ मंसिर । धनगढी स्थित सारथी अस्पतालसहित पलसमा आगलागी हुँदा लगभग १८ करोडको क्षति भएको बताइएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको रिर्पोट सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन्य पसलमा क्षति भएको छ। आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ। यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको रिर्पोटमा उल्लेख छ।

यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो। यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो।