जोखिम बन्न सक्छ महिनावारी सार्ने औषधि

महिनावारी सार्ने औषधिको प्रयोगले महिलाहरूको शरीरमा हर्मोनमा असन्तुलन ल्याउने भएकाले स्वास्थ्यका लागि यिनको प्रयोग जोखिमपूर्ण त छ नै, यस्तो अभ्यासले महिनावारीबारेको अन्धविश्वासलाई पनि बढावा दिइरहेछ।

चाडपर्व नजिकिंदै गर्दा कतिपय नेपाली महिलालाई चिन्ता लाग्छ, कतै महिनावारी भइहाल्ने हो कि ? महिनावारीलाई अपवित्र मान्ने अन्धविश्वास राख्नेहरूले चाडबाडमा ‘चोखो’ हुन रजश्वला सार्न बजारमा पाइने ‘फेमिट्रन’जस्ता औषधि सेवन गर्छन्।

चाडबाडमा मात्र नभई अरू वेला पनि घुमफिरमा जान, कार्यक्रमहरूमा सहभागी हुन महिनावारीले अप्ठयारो नपारोस् भनेर महिनावारी सार्ने यस्ता औषधि प्रयोग गर्छन्। तर, के यस्ता औषधिको सेवन स्वास्थ्यका लागि सुरक्षित छ त ?

स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। संगीता मिश्रका अनुसार यी औषधि महिनावारी सार्नका लागि बनेकै होइनन्। त्यसैले यिनको प्रयोग स्वास्थ्यका लागि सुरक्षित छैनन्। डा। मिश्रका अनुसार, यस्ता औषधिले महिलाको हर्मोनलाई असन्तुलन गरेर महिनावारी पर सार्ने काम गर्छन्। हर्मोनको चक्रमा नै परिवर्तन पार्ने भएकाले स्वास्थ्यमा पनि गम्भीर असर पुग्छ।

महिनावारी सार्नभन्दा पनि हर्मोन सन्तुलनमा राख्नका लागि यस्ता औषधि बनाइएको डा। मिश्र बताउँछिन्। उनका अनुसार ‘आईभीएफ’ प्रविधि मार्फत सन्तान जन्माउने क्रममा अन्डा बनाउने प्रक्रियाका लागि यस्ता औषधिको उपयोग हुने गर्छ। “डाक्टरले पनि महिनावारी पर सार्ने औषधि भनेर मात्र प्रयोग गर्न दिंदैनन्। यो औषधि यसका लागि बनेकै हैन तर खुला प्रयोग भएको छ”, डा. मिश्रको टिप्पणी छ।

यस्ता औषधि खाएर बीचमा छोडेपछि अत्यधिक रगत बग्ने, महिनावारीको चक्र बिग्रने हुनाले डाक्टरको सल्लाह विना यस्ता औषधिको प्रयोग नगर्न उनको सल्लाह छ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। ज्वाला श्रेष्ठ पनि सामान्य अवस्थामा महिनावारी सार्नकै लागि यस्ता औषधि प्रयोग नगर्ने सल्लाह दिन्छिन्।

“यस्ता औषधिको प्रयोगले शरीरमा अनावश्यक मात्रामा हर्मोन वृद्धि हुन्छ जसले गर्दा महिनावारी नहुँदा पनि रगत बग्ने समस्या ल्याउँछ,” डा। श्रेष्ठ भन्छिन्। तर यस्ता औषधिका बेफाइदाबारे सचेतना नहुँदा शिक्षित महिलाहरूले समेत खाने गरेको उनले बताइन्।

“पढेलेखेका शिक्षित, काठमाडौं शहरमा नै बस्ने जानकार व्यक्तिहरू पनि चाडपर्व छेकिन्छ भनेर यी माग्नु हुन्छ, दुःख लाग्छ,” डा. श्रेष्ठ भन्छिन्।

मर्यादित महिनावारीको अभियान चलाइरहेकी लेखक तथा अभियन्ता राधा पौडेलका अनुसार यस्तो औषधि सेवनको अभ्यास गाउँमा भन्दा शहरमा बढी छ। “गाँउघरका मानिससँग यो औषधि खरीद गर्ने पहुँच कम हुन्छ, गाँउमा औषधि पाउन मुस्किल पर्ने, खरीद गर्ने पैसा पनि हुँदैन, शहरमा तीज, दशैं, भाइटीकाहरूमा एउटा मात्र छोरी भनेर औषधि खाएर भए पनि महिनावारी रोकेर लगाउँछु भन्ने गरेका मान्छे आफैंले भेटेकी छु,” पौडेल सुनाउँछिन्।

यस्ता औषधि प्रयोगले स्वास्थ्यमा जति असर पारेको त्यति नै र त्यो भन्दा बढी असर सामाजिक मान्यतामा पारेको पौडेलको तर्क छ। उनका अनुसार, यस्ता औषधिको प्रयोगले महिनावारीलाई ‘अपवित्र’ मान्ने अन्धविश्वासलाई बढावा दिइहरेको छ। पढेलेखेका र शहरिया भनिएकाहरूले नै यस्ता औषधिको सेवन गरेर महिनावारीप्रतिको नकारात्मक धारणा बढाएको उनको ठम्याइ छ। हिमालखबरबाट ।