कैलालीमा फुलको उत्पादन बढ्यो
कैलाली, २६ कात्तिक । धनगढी उपमहानगरपालिकाले पलाष्टिक जन्य बस्तुमा रोक लगाएपछि कैलालीका किसानहरु फूल खेतितर्फ आकर्षित भएका छन् । गत वर्ष तिहारकोबेला नगरपालिकाले पलाष्टिकको फूलमालामा प्रतिबन्ध लगाएको थियो ।
नगरपालिकाले यो वर्ष तिहारलाई लक्षितगरि नगरभित्रका कृषि व्यवसायीहरुलाई एक हप्ते फुलखेति तालिम सञ्चालन गरि केही थाल बीउ अनुदान समेत दिएको थियो । सोही तालिमबाट प्रभावित भएका धनगढी उपमहागरपालिका ७ का जोगेन्द्र सेठ्ठीले डेढ कठ्ठामा सयपत्री फुल खोती शुरुवाट गरेका छन् ।
उनी भन्छन् ‘नगरपालिकाले थोरै बीउ र पानी चार्नलाई एउटा हजारी अनुदान दिएको थियो । त्यतिले के होला र भन्दै काठमाडौंबाट थाईलेण्डको कर्मा(५५५) जातको २ हजार वीउ ल्याए ।’ उक्त वीउको रु ६ हजार रुपैयाँ तिरेको उनी बताउँछन् । उनले आफै उक्तको बेर्ना बनाए र डेढ कठ्ठामा रोपे ।

उनी भन्छन् ‘फूल एकदमै राम्रो भएको छ । प्रति बोटमा ६० देखि १५० वटा सम्म कोपिला लागेको छ । फूललाई स्याहर सुसार गर्नपनि निकै मेहनत लाग्छ । आफ्नो बच्चालाई पालनपोषण गरे जस्तै हुर्काउनुपर्छ ।’
उनको यो पहिलो अनुभव हो । उनी विगत ३ वर्षदेखि सनराइज मल्टि एग्रो प्रा.लि दर्तागरि तरकारी खेति गर्दै आईरहेको छन् । यो वर्षले तरकारीसंगै फूलपनि रोपेका छन् । उनको अनुभवमा फूलमा मात्रै ६० हजार बराबरको रकम खर्च भएको छ तर उत्पादनपनि राम्रो छ ।
उनको बारी २ क्यून्टल भन्दा बढी फूल फुलेका छन् । प्रति केजी ५ सय रुपैयाका दर उनी फूल बेचिरहेको बताउँछन् । उनी अर्को वर्ष फूल खेति बढाउने र १२ महिना फूल रोप्ने तयारीमा छन् ।
पत्रकारिता छोडेर फूलमा रमाउदै
कैलालीको टीकापुर नगरपालिका १ बजारमा बस्दै आएका छत्र बहादुर मल्ल विगत ७ वर्षदेखि आफ्नै प्रकाशन तथा सम्पादनमा जानकी खबर सप्ताहिक पत्रिका सञ्चालनमा ल्याएका छन् । पत्रकारिता क्षेत्रमा आर्थिक उपलब्धी हुन गर्ननसकेपछि आफ्नै जमिनमा तीन वर्षदेखि फूलखेतीमा रमाईरहेका छन् ।
राजनीतिशास्त्र (एम.ए.), शिक्षा शास्त्र –एम.एड. र कानुन (एल.एल.बि.) त्रिभुवन बिश्वबिध्यालय, किर्तिपुरमा अध्ययन गरेका मल्ल कोभिडपछि उनको पत्रिका प्रकाशनमा आर्थिकरुपले धरापमा पर्यो ।
उनी जानकी गाउँपालिका ७ मा रहेको आफ्नै १ विघा जमिनमा फूलखेति गर्न थालेको बताउँछन् । उनले भने ‘दोस्रो बर्ष बजार अभाबका कारण झन्डै चार कुन्टल फूल खेर गयो । बैशाखको हावाहुरीले पनि ठूलो क्षेती भयो । तेस्रो वर्ष पनि वाढीले फूल उत्पादनमा ठूलो क्षेति पुर्याएको थियो । तर लगानी भने खेर गएन ।’

उनी यो ६ क्यून्टल सयपत्री फूल उत्पादन गरेका छन् । फूललाई स्याहार सुसार धेरै चाहिने भएकोले उनीहरु श्रीमान श्रीमति दुबै जना फूलबारीमा नै व्यस्त हुन्छन् । ‘फूल सिजनमा गृहणी महिलाहरुलाई पैसा दिएर माला उन्न लगाउँछु । उनीहरुलाईपनि घरखर्च भइहाल्छ ।’
उनका अनुसार फूल खेतीले थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिन्छ । जसले गर्दा टीकापुरमा अहिले चार जना युवाले फूल खेती गरिरहेका छन् । उनका अनुसार बजारमा बढी जसो प्लाष्टिकको फूल प्रयोग हुनेगरेकोले किसानहरुले उत्पादन गरेको फूल हरेक वर्ष बारीमै सुक्छ ।
पछिल्लो केही वर्ष यता गाउँघर विबाह ब्रतबन्धनको बेला खुद्रामा १२ महिन नै फूल बिक्री हुने भईरहेको छ । पुजा आजा, बिबाह, बर्तमन तथा मृत्यु मा पनि फूल चाहिने भएकोले बजारलाई व्यवस्थित गर्न सके फूल खेती जुनसुकै ठाउँमापनि फस्ताउछ ।
धान खेति भन्दा फुल खेतिमा राम्रो छ । धान बिक्री गर्दा बडो मुस्किलले २० हजार रुपैयाँ पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा बर्सेनि बराबरी हुन्थ्यो । अझ कुनै वर्ष त नोक्सानी समेत बेहोर्नुपर्थ्यो । फूलमा धेरै राम्रो आम्दानी गर्न नसकेपनि हरेक लटमा लगानी र मेहनत कटाएर ५०/६० हजार रुपैयाँ फाईदा भईरहेको उनी बताउँछन् ।

यस्तै टीकापुर नगरपालिका १ वनगाउँका सिताराम चौधरी सात वर्षदेखि फुल खेतिमा लागेका छन् । उनको धान फल्ने जमिनमा आजभोली ढपक्क सयपत्री फूल फूलेको छ । उनले भने ‘जमिनले नयाँ जीवन पायो, मेरो आवश्यकता पुरा भएको जस्तो अभाष हुन्छ ।’
फूलखेतीमा लागेपछि सितारामको मुहारपनि चमक देखिन्छ । जोड–घटाउ गर्दा देखिने आम्दानीले उनी सयपत्री झै ढपक्क बलेको देखिन्छन् । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ । तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिएन । त्यसैले सुदूरपश्चिममा पहिलो पटक उनी फूलखेति शुरु गरेको बताउँछन् । सातबर्ष अगाडी उनी १० कठ्ठामा सुरुवाट गरेको व्यवसायी अहिले १ विघा ५ कट्ठामा सयपत्री र मखमली रोपेका छन् ।
उनी गत वर्ष ७ खालको कारोबार गरेको बताए । सबै खर्च कटाएर ५ लाख रुपैया आम्दानी भएको उनी बताउँछन् । परिवारमा ६ जना छन् । सबैले फूलखेतिमा नै व्यस्त भएको सीताराम बताउँछन् ।
उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिरसम्म र फागुनदेखि असारसम्म । अहिले उनको फूल राम्रो फूलेको छ । उनले उत्पादद गरेको फूल र माला कैलालीको टीकापुर, लम्की, अत्तरिया, धनगढी लगायत बर्दियाको राजापुर, बाँकेको कोहलपुर, नेपालगञ्ज डोटी, अछाम, डडेल्धुरा बुटवलसम्म पु¥याउँदै आएका छन् ।
२०७४ सालदेखि पुष्प व्यवसायी सुरु गरेका चौधरीलाई फूलखेतीले राम्रो आम्दानी मात्र दिएको छैन, जिल्लामै पुष्प व्यवसायीका रूपमा स्थापित र नमुना व्यवसायी बनाएको छ ।
स्नातक तहसम्म अध्ययन गरेका सीतारामलाई सुरुमा पुष्प व्यवसायबाट यतिको आम्दानी हुन्छ भन्ने लागेको थिएन । फूलखेतीको सुरुवाती दिन सम्झँदै सीताराम भन्नुहुन्छ, “फूल खेती गर्नुभन्दा पहिला गाउँमै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ ।

विद्यालयमा कुनै कार्यक्रम भयो भने विद्यार्थीलाई फूल लिएर आउन भनिन्थ्यो तर कसैले पनि फूल ल्याउँदैन थे, त्यतिखेर फूल लगाउनमा कसैको चासो थिएन, मैले फूलखेती गर्ने सोच बनाएँ र सुरु गरेँ ।
तिहारमा मखमली र सयपत्रीको बढी माग हुने भएकाले सीताराम त्यहि फुल रोपेका छन् । उनी फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका छन् । फूल खेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने काम समेत गर्दै आईरहेको उनी बताउँछन् ।
सीतारामको अनुभवमा प्राकृतिक फूल स्थानीयस्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।” उनको पुष्पालयमा १५ जना स्थानीयले रोजगार पाएका छन् । फूल लगाउने, गोडमेल गर्ने, टिप्नेदेखि माला उन्ने कार्यमा सिकाउँदै रोजगार दिने गरेको उनले बताए ।













