कैलाली जिल्ला अदालतमा चोरी

धनगढी, २१ कार्तिक । कैलाली जिल्ला अदालतमा आईतवार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आईतवार राति करीव साढे १० बजे अदालतको दक्षिण तर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका व्यक्तिहरुले मुद्दाका मिसिल साथमा रहेका पाँच थान मोवाईल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरेर लगेका छन् ।

अदालतको प्रवेशद्धार र परिसर भित्र प्रहरीले सुरक्षा दिने भएपनि प्रहरी नरहेको दक्षिण तर्फको भागबाट भित्र पसेका व्यक्तिहरु श्रेष्तादार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबै तिर गएका देखिएको प्रहरीले बतायो ।

उनीहरु पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ ? भन्ने जानकारी राखेर भित्र पसेको अनुमान गरिएको छ । अदालत भित्र चोरी भएको घट्ना प्रहरीले बिहान मात्र जानकारी पाएको थियो । त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको थाह पाएनन ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरु मुद्दासंगै सम्बन्धित भएको अनुमान गरेको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।