बरघरको सहयोगले न्यायिक समितिलाई काम गर्न सहज
नेपालगन्ज, १७ कात्तिक । थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको हो ।
थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रुपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले गाउँपालिकाको न्यायिक कार्य सहज र प्रभावकारी बन्दैगएको बताए ।
उनले बरघरको कुरा समाजले मान्ने भएकाले उहाँहरुको सहयोगले न्यायिक समितिको काममा ठूलो सहयोग पुगेको बताउछन् । उपाध्यक्ष रोकायका अनुसार थारू समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न सजिलो भएको छ ।
उनले थारू समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरले हल गर्ने गर्ने गर्छन् जसका कारण न्यायीक समितिमा उजुरीहरू कम मात्रामा आउँछन् । आएका उजुरी सल्टाउन पनि बरघरको सहयोग मिल्ने गरेको बताए ।
थारू समुदायबाट परेका उजुरीमा बरघरबाटै समस्या समाधान हुनेभएकाले न्यायिक समितिलाई काममा धेरै सहज भइरहेको गाउँपालिकाले जनाएको छ । सोही कारणले बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको रोकाय बताउँछिन् ।
उनले पालिकामा बरघर ऐन लागू गर्न छलफल भइसकेको बताईन् । बजेट पनि विनियोजन गरिएको छ, तर ऐन लागू हुन नसकेकाले छिट्टै बरघर ऐन लागू गर्नेछौँ ।
बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र यस क्षेत्रमा बरघर ऐन लागू गरेको छ । बारबर्दियाको अनुभवले पनि काममा सहज हुने जनाइएको छ । बैजनाथमा बरघर ऐन लागू गर्न थारू राष्ट्रिय आयोगले ‘बरघर ऐन तथा समावेशिता’ विषयमा एक कार्यक्रम समेत आयोजना गरिसकेको छ ।
सो कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’ को विषयमा समुदायस्तरमा गहन रूपमा छलफल गरिएको थारू राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारूले जानकारी दिए । उनले कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारू समुदायका अगुवा, बरघरलगायतको उल्लेख्य उपस्थिति रहेको बताए । गोर्खापत्रबाट ।













