प्रदेश सरकारमा समितिहरुको नेतृत्वकर्ता नहुँदा काममा बाधा
कैलाली, १३ कात्तिक । सुदूरपश्चिम प्रदेश सभामा समितिको नेतृत्वकर्ता नै नभएका कारण विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको छ ।
प्रदेश सभामा चार वटा विषयगत समिति छन्, तर दुई वटा थपेर छ समिति बनाउने गृहकार्य पनि भइरहेको छ । छ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच सहमति जुट्न गाह्रो भईरहेको छ ।
समितिका सभापति नहुँदा काम गर्न समस्या भइरहेको सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउछन् । उनले भने “समितिका सभापति चयन गर्न ढिलो भइरहेको छ । सभापति नहुँदा समितिहरूलाई नियमित काम गर्न तथा निर्देशन दिन समस्या भइरहेको छ ।”
प्रदेश सभा सदस्य बमका अनुसार केन्द्रीय सरकारमा सहभागी दलहरूबिच सुदूरपश्चिम प्रदेश सभामा दुई वटा विषयगत समिति थपेर छ पु¥याउने सहमति भएको छ । त्यो सहमति प्रदेशमा भने कार्यान्वयन हुन सकिरहेको छैन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले समिति थप्ने विषयमा सहमति नजनाएको बताउँछन् । “त्यसै कारणले दोस्रो एवं बर्खे अधिवेशनमा समितिका सभापति चयन गर्न नसकिएको हो ।”
उनका अनुसार विषयगत समितिका सभापति चयनको निर्वाचन गएको असोज १२ गते तय गरिएको थियो ।
समिति थप्ने विषयमा सहमति जुट्न नसक्दा निर्वाचन नै स्थगित गरियो । त्यसपछि प्रदेश सभाको दोस्रो अधिवेशन पनि सभापति चयन नै नगरी अन्त्य गरियो । अब समिति थप गरेर सम्भवतः तेस्रो अधिवेशनमा विषयगत समितिले सभापति पाउने जनाइएको छ ।
सभापति नहुँदा समितिका कामहरू सुस्त छन् । बैठक पनि नियमित बस्न सकिरहेको छैन । प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति रहेका छन् ।













