इजरायलमा मारिएका गणेश नेपालीको २० दिन पछि दाहसंस्कार

बझाङ– गत असोज १६ गते दिउँसो बझाङमा भुकम्प गएको केहीबेरमा जयपृथ्वी नगरपालिका ११, का धनलाल नेपालीको फोन बज्यो । फोन इजरायलबाट माइलो छोरा गणेशले गरेका थिए । भत्किएको घरमा नबस्नु, अर्को घर नबनाउन्जेल टिनको छाप्रो बस्नु भनेर भनेको थियो,धनलालले छोरा सँग भएको अन्तिम संवाद सुनाउदै भने, यता भुकम्प आएको छैन । मेरो चिन्ता नगर्नू तपाईहरु सुरक्षित बस्नु भन्थ्यो । आफै लास भएर आयो ।

हमास विद्रोहीको आक्रमणमा परी इजरायलमा मृत्यू भएका गणेश नेपालीको दाहसंस्कार गर्ने क्रममा यही संवाद सम्झीदै धनलाल पटक पटक भावविह्वल भए । मृत्यू भएको २० दिन पछि उनको शव बझाङ ल्याइएको हो । उनको भोपुर स्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको छ । जिल्लाका जनप्रतिनिधी लगायत विभिन्न क्षेत्रका मानिसहरु उनको शव यात्रामा सहभागि भएर अन्तिम विदाई गरेका थिए । उनको विदाईमा सहभागी सबै जसोका आँखा अश्रुपुर्ण देखिन्थे ।

गणेशको मृत्यूको खबर सुने देखी नै छिनछिनमा बेहोस हुनेगरेकी उनकी आमा लक्ष्मी आउजीले पुत्र वियोगले झन विक्षिप्त बनेकी छन । उनलाई बिहिबार अस्पताल भर्ना गरिएको थियो । भाईको मृत्यूको खबर सुने देखी आमाको होस नै ठेगानमा छैन, गणेशका दाई विकास नेपालीले भने ‘पटक पटक अस्पताल लगेर स्लाइन चढाउने गरेका छौ, घटनाको दिन देखी नै आमाले खान सुत्न छोडेको बताए ।

जिल्लाले गुमायो होनहार युवा

२०५५ सालमा जन्मिएका गणेश पढाईमा अब्बल थिए । उनका चार दिदी, एक दाजु र दुइ भाई छन । आर्थिक रुपले विपन्न परिवारमा जन्मिएका गणेशले गाउँ नजिकैको सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । त्यस यता उनको पढाई छात्रवृतीमा चलिरहेको थियो । चितवनको प्रेरणा कलेजबा छात्रवृतीमा आइएस्सी पास गरेका उनि अहिले टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृती मै कृषी विज्ञानमा स्नातक पढिरहेका थिए । आठौ सेमेस्टरको इन्र्टनसिप गर्न भदौमा इजरायल गएका गणेश ११ महिना पछि फर्किने गरी गएका थिए । लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत उनलाई सुदूरपश्चिम विश्वविद्यालयले इजरायल पठाएको थियो ।

मृतक नेपाली विद्यालय र क्याम्पसमा अत्यन्तै मिलनसार र मेधावी विद्यार्थी भएको उनलाई पढाएका शिक्षकहरु बताउछन ।

पढाईमा मात्रै नभएर, गित संगित र साहित्यमा पनि गणेशको क्षमता अरु भन्दा अब्बल थियो उनलाई नजिकबाट चिन्ने हाल जयपृथ्वी क्याम्पसमा कार्यरत सहप्राध्यापक लालबहादुर बोहराले भने, स्कुल, क्याम्पसमा मात्रै नभएर गाउँ समाजमा पनि सबै सँग मिल्ने, निकै मेहनती र होनहार युवा गुमाउनु पर्दा निकै दुख लागेको छ, गणेशको मृत्यूले उनको परिवारलाई मात्रै नभएर जिल्लालाई नै ठुलो क्षति भएको उनले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । गएको एक महिना नबित्दै केही विद्यार्थीहरू इजरायल माथि हमासले गरेको क्रुर आक्रमणको सिकार भए । उक्त आक्रमणमा परेर १० जनाको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्क विहिन छन । मृत्यु हुनेमध्ये बझाङका गणेश पनि एक हुन् ।