इजरायलमा मारिएका गणेशको शव आफन्तलाई बुझाइयो

धनगढी, १० कात्तिक । हमासको आक्रमणबाट इजरायलमा मारिनु भएका विद्यार्थी गणेशकुमार नेपालीको शव आज बिहान आफन्तलाई बुझाइएको छ ।

हिजो इजरायलबाट काठमाडौँ ल्याएको जय पृथ्वी नगरपालिका–११ का नेपालीको शव परिवारको जिम्मा लगाइएको हो । काठमाडौँबाट हिजो साँझ ८ बजे एम्बुलेन्समार्फत शवलाई कैलालीको अत्तरिया पुर्‍याइएको थियो । आज बिहान १ बजे शव वाहनमा बझाङका लागि शव पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान क्याम्पसबाट इन्टर्नका लागि इजरायल गएकामध्ये १० जना विद्यार्थीको हमास आक्रमणमा परी ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये चार जनाको शव ल्याएर यसअघि नै अन्तिम संस्कार गरी सकिएको छ ।

जोशीपुर गाउँपालिका–५ मैन पोखरीका आशिष् चौधरी, घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, लेकम–५ को दीपेशराज विष्टको अन्त्येष्टि भइसकेको हो । अझै पाँच जनाको शव ल्याउन बाँकी रहेको छ । गोरर्खापत्रबाट ।