बेमौसमी वर्षाले केराखेतीमा क्षति, किसान चिन्तित
कैलाली १ कात्तिक ।उत्पादन भएको केरा बजारमा पठाउन नपाउँदै हावाहुरी सहित आएको वर्षाले केरा खेतिमा क्षति पुर्याउदा किसान चिन्तित बनेका छन् ।
यो समय किसानले उत्पादन गरेको केरा बजारमा पठाउने सिजन हो । तर कैलालीका किसान उत्पादन भएको केरा बजारमा पठाउन पाएनन् ।
केरा तयार भएर आम्दानी लिने समयमा बेमौसमी वर्षाले किसानलाई ठूलो नोक्सान भएको छ । हावाहुरीले तयार भएको केराखेतीमा करोडौँको क्षति पुर्याएको टीकापुरका किसानहरु बताउँछन् ।
असोज २९ गते आएको वर्षाले कैलालीमा किसानका धानबाली र केराखेतीमा क्षति भएको हो । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको बताएका छन् । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको उनले बताए ।
उनी उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्याउँदा निकै दुःखी छन । “उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो”, उनले भने, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।”
रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन ।
“अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको देखिन्छ । किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले हावाहुरीले ठूलो क्षति गर्यो ।”
टेकेन्द्र धामीलेपनि यस्तै समस्या सुनाए । उनले आफ्नो बारीमा भएको केरा खेती मध्ये ३० प्रतिशत नोक्सान भएको अनुमान गरेका छन् ।
केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूले कैलालीमा समग्रमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्याएको बताए । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ”, थारूले भने, “यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ ।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उनको भनाई छ ।
अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी नै क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गरे । “हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ”, उनि भन्छन, “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।”
कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । जसमा आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ ।













