सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली हमलामा परि घाइते

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली प्रशिक्षार्थी कामदार घाइते भएका छन् । शनिबार विहान हमासले गरेको हमलामा परी उनीहरु घाइतेभएका हुन् । घाईते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

नेपाल र इजरायज सरकारबीच भएको सहमति अनुसार नेपाली प्रशिक्षार्थी कामदारहरु प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत थिए । उक्त कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ ।

घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बङ्करमा पुग्नुपर्ने हुन्छ । तर समयमा भित्र बंकरमा पस्न नसकेकाहरु घाइते भएको बताइएको छ ।

गाजा क्षेत्र भएकोले हमासको हमलाबाट बच्न अनिवार्य बंकर बनाउनु पर्ने हुन्छ । उक्त कृषि फर्ममा पनि बंकर बनाइएकोले ठूलो मानवीय क्षति नभएको हो ।

हमासको हमलापछि शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ९ जना नेपाली घाइते भएको जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले घाइतेमध्ये दुई जनामात्रै नेपाली दूतावासको सम्पर्कमा रहेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी थिइन् । बाँकी नेपाली कामदार बंकरमा लुकेको बताइएको छ ।