थारु कल्याणकारिणी सभाको अधिवेशनमा राजनीति हाबी, सभापतिमा वीरबहादुर
धनगढी, १४ असोज । थारु कल्याणकारिणी सभा कैलालीको अधिवेशनमा राजनीति हाबी भएर निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका टीम विजय भएको छ । थारु समुदायको विशुद्ध हक अधिकारका लागि स्थापित सो संस्थाको अधिवेशनमा राजनीति हाबी भएको थियो ।
यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो । अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि निर्वाचनकोलागि असोज १३ गते मिति सारिएको थियो ।
राजनीतिक आस्थाका आधारमा उम्मेदवार खडा गरिएपछि सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास विफल भएको थियो । निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका रहेको छन् ।
नागरिक समाजका अगुवा एवम् अभियन्ता दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी वीरबहादुर चौधरी सभापतिमा निर्वाचित भएका छन् । विजयी भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गरे ।
त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनीराम चौधरी र १५६ मतका साथ लक्ष्मण चौधरी विजयी भएका छन् । तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला सुस्मिता चौधरी यसअघि नै निर्विरोध भइसकेका थिए । उपसभापतिका उम्मेदवार बतासु चौधरी र मानबहादुर चौधरी भने पराजित ।
सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी भएका छन् । अधिकारकर्मी वसन्ती चौधरीलाई पराजित गरी उनी विजयी भएका हुन् । पराजित चौधरीले १४३ मत प्राप्त गरे । यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी भए । उनको प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गरे ।
कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्यप्रयासी चौधरी विजयी भएका छिन् । उनको प्रतिद्वन्द्वी सुनीता चौधरीले १३६ मत प्राप्त गरे ।













