हार्डवेयर एक्स्पो शुरु
कैलाली, १० असोज । निर्माण सामाग्रीको व्यवसाय प्रबद्र्धन गर्ने र प्रयोगकर्तालाई एकै छानामुनीबाट सम्पूर्ण निर्माण सामाग्री बारे परामर्श दिने उद्देश्यका धनगढीमा हार्डवेयर एक्स्पो २०८० शुरु भएको छ ।
कैलाली हार्डवेयर व्यवसायी संघको आयोजना गरेको एक्स्पो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार उद्घाटन गरेका छन् । असोज १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय निर्माण सामाग्री उत्पादक कम्पनीको ५५ वटा स्टलहरु राखिएका छन् ।
प्रयोगकर्ताहरुलाई निर्माण सामाग्रीको गुणस्तर, छनोट र प्रविधि लगायतका विषयमा सचेतना तथा परामर्श ति स्टलबाट लिन सक्ने व्यवस्था गरिएको संघका अध्यक्ष कुवेश शाहीले बताए । उनले एक्स्पो अवधिमा सञ्चालन गरिने विभिन्न खालका सेमिनारबाट प्रयोगकर्ता, उत्पादक र व्यवसायीबीचको अन्तरक्रिया मार्फत् निर्माण सम्बन्धी नीति, प्रविधि र सामाग्रीको विषयमा छलफल गरिने बताए । उद्घाटन समारोह बाहेक बुधबार पाँच सय भन्दा बढि प्रयोगकर्ताहरुले एक्स्पो अवलोकन गरेका छन् ।
एक्सपोले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न उद्योगीहरुलाई प्रोत्साहन गर्नुका साथै मार्केट मापन गर्न सहयोग गर्ने संघका निवर्तमान अध्यक्ष सुरेन्द्र राठीले बताए । निर्माण सामाग्रीको ठूलो मार्केटको रुपमा सुदूरपश्चिम प्रदेश उदय भइसकेको बताउँदै उनले विकास निर्माण सम्बन्धी नीति निर्मातालाई समेत एक्स्पोले वेयफरवार्ड गर्ने बताए ।
उद्घाटन समारोहमा भन्दा पहिले धनगढीमा प्रभातफेरी आयोजना गरिएको थियो । उद्घाटन पश्चात अम्बे स्टिल्स्का अध्यक्ष न्यौपानेको मोटिभेसनल क्लास सञ्चालन गरिएको थियो । करिब डेढ सय जना प्रयोगकर्ता र व्यवसायीहरुको सहभागितामा गरिएको मोटिभेसनल क्लासमा अध्यक्ष न्यौपानेले निर्माण सामाग्रीको छनौट विधि, निर्माण प्रविधि र बिजनेश प्रोमोसनको विषयमा आफ्ना अनुभव र नोलेज शेयर गरेका थिए ।
लगानी सम्मेलन गर्छौ मुख्यमन्त्री शाह
सो अवसरमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानी बढाउन प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्ने बताएका छन् । उनले प्रदेश सरकारले चालु आर्थिक वर्षमा सोको लागि बजेट समेत विनियोजन गरिसकेको जानकारी दिए । उनले प्रदेशमा उद्योग ल्याउनका लागि यसैआर्थिक वर्षमा लगानी सम्मेलन गरिने बताए । उनले उद्योगीहरुलाई सुदूरपश्चिम प्रदेशमा उद्योग सञ्चालन गर्न आव्हान पनि गरेका छन् ।
उनले प्रदेश सरकारले लगानी गर्न चाहने उद्योगीहरुलाई प्रदेश सरकारले सधैं साथ दिने बताउँदै व्यवसायीहरुको समस्या समाधानका लागि समेत पहल गर्ने जनाए । मुलुक आर्थिक मन्दीमा रहेको बताउँदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले यो अवस्थामा पनि प्रदेश सरकारले रियालिस्टिक बजेट ल्याएको बताए । आफ्नो स्रोतलाई सहि अनुमान गरी बजेट ल्याएको बताउँदै उनले प्रदेश सरकारले आर्थिक समस्या समाधानका लागि केही राम्रो अभ्यास थालनी गरिसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष अनिलकुमार भोजानियाले सरकारले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको कारणले हामी हार्डवेयर व्यवसायीले पनि लगानीको रिटर्न पाउन नसकेको बताए । उनले भने, ‘हामीले निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा सामान उधारो दिएका हुन्छौं । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिएपछि मात्रै निर्माण सामाग्री व्यवसायीले निर्माण व्यवसायीबाट भुक्तानी पाउन सक्छ ।’
सुदूरपश्चिम प्रदेश निर्माण व्यवासायी महासंघका अध्यक्ष लक्ष्मणकुमार स्वारले सरकारले २० लाखको बजेट विनियोजन गरी २० करोडको ठेक्का लगाइदिने गरेको हुनाले सरकारले निर्माण व्यवसायीहरुलाई रकम भुक्तानी दिन नसकिरहेको बताए । उनले महासंघले सम्बन्धित सबै निकायमा पहल गर्नुका साथै एक चरणको आन्दोलन समेत गरिसक्दा पनि निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेको बताए ।
सरकारको नीतिका कारण सबै खालका व्यवसायीहरुले समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । ‘व्यवसायीहरुलाई राहत दिने खालको कुनै पनि तहको सरकारसंग नीति नभएको कारण आर्थिक समस्या निम्तिएको छ,’ अध्यक्ष कुँवरले भने, ‘सरकारले करमाथि कर मात्रै थप्ने काम गरिरहेको छ । यसले गर्दा व्यवसायीहरु पलायन हुने अवस्था आएको छ ।’
अम्बे स्टिल्स् प्रालिका अध्यक्ष शोभाकर हरि न्यौपानेले हार्डवेयर व्यवसायीहरुले भोगिरहेको समस्या उद्योगहरुले पनि भोग्नु परिरहेको बताए । उनले व्यवसायीको समस्या राष्ट्रिय मुद्दाको रुपमा अगाडि आएको हुनाले सरकारले यसलाई समाधान गर्नुपर्ने बताए ।













