कञ्चनपुरमा माओवादी अभियान : गाउँ नछोड्न जनताको आग्रह

कैलाली ८ असोज । नेकपा (माओवादी केन्द्र) ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको क्रममा कञ्चनपुर पुग्दा जनताहरुले नेतालाई गाउँ नछोड्न आग्रह गरेका छन् ।

कञ्चनपुर जिल्ला इन्चार्ज विरमान चौधरीको नेतृत्वमा गएको अभियान टोली कञ्चनपुरको थारु गाउँमा पुगेको छ । उत्पीडित तथा आदिवासी थारु समुदायको मुक्ति र अधिकारको लागि माओवादीले पुर्याएको योगदानबारे पुनः एक पटक समिक्षा हुन थालेको इन्चार्ज चौधरी बताउँछन् ।

जनयुद्धकै कारण आफूहरुको राज्यको पहुँचमा पुग्न सकेको थारु समुदायको दुई मत छैन तर पछिल्ला दिनमा माओवादीले आफूहरुलाई भुलेको गुनासो आईरहेको चौधरी बताए ।

“लडाइँका कठिन दिनहरुमा हामीले नै बचाएका नेताहरु सहर पसेर नफर्केपछि हामी दायाँबायाँ लागेका हौं । फेरि फर्किएर आउनुभयो, त्यसैले हामी फर्किएका हौं” हालै नेकपा एमामले छोडेर माओवादीमा फर्किएकाहरुले बताए ।

विना चौधरी, रमादेवी चौधरी, फानी डगौरा, फगुनी डगौरालगायतको टोली पुनः माओवादीमै फर्किएका छन् । उनीहरुले एक विज्ञप्ति जारी गरेर आफ्नो लागि संघर्ष गरेको माओवादी पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेको तर बीचमा राजनीतिक रुपमा अन्यौल भएर नेकपा एमालेमा प्रवेश गरेको उल्लेख गरेका छन् ।

कञ्चनपुर इन्चार्ज चौधरीले आफूहरु गाउँघर फर्किएसँगै अन्य पार्टीमा लागेका जनताहरु पनि उत्साहित भएको बताए । उनले भने, “हामीहरु गाउँघरमा फर्किएपछि जनताहरु निकै उत्साहित भएको पायौं । तपाईँहरुले छोडेकै कारण हामी अन्य पार्टीमा गएका हौं, तपाईँहरु पनि फर्किएपछि हामी पनि फर्किन्छौं ।”

जिल्लामा दशवटा अभियान टोली खटिएको छ । इन्चार्ज चौधरीका अनुसार सबै अभियान टोलीले पहिलो चरणका बैठक, भेला, प्रशिक्षण, सहिद परिवार भेटघाट, पुराना नेता कार्यकर्ता भेटघाट तथा समिक्षा सकिएको । अब दोस्रो चरणका सदस्यता नविवकरणलगायतका कामहरु सुरु भएका छ ।