पथरैया नदीमा पुल निर्माण कार्य छ वर्षदेखि अलपत्र
धनगढी, ६ असोज । कैलालीको पथरैया नदीमा पुल निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र परेको छ। लम्कीचुहा नगरपालिका–९, सोनपुर र जोशीपुर गाउँपालिकाको सिमराना जोड्ने पुल निर्माण कार्य शुभारम्भ नहुँदै अलपत्र परेको हो।
निर्माण कम्पनीले पुल बनाउनका लागि खाल्डो खनिएको छ । निर्माण कम्पन्नी वर्षदेखि काम नै गरि सम्पर्कविहीन बनेको स्थानीयको आरोप छ। सङ्घीय सरकारको लगानीमा उक्त नदीमा पुल निर्माणका लागि २०७४ सालमा ठेक्का सम्झौता भएको थियो।
करिब ५२ मिटर लामो पुल बनाउन एडभेन्चर कन्स्ट्रक्सन प्रा.लि.ले छ करोड ७३ लाख रुपियाँ लागतमा ठेक्का पाएको हो ।
पुल निर्माणकोलागि स्थानीयवासी र जनप्रतिनिधिले निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार घचघचाए पनि कुनै सुनुवाइ नै नभएको प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले बताए ।
उनले पुल निर्माण कार्य सम्पन्न गर्न सङ्घीय सदनमा नै आवाज उठाएको बताए । अब ठेक्का पाएको निर्माण कम्पनीसँग सम्झौता तोडेर भए पनि पुल निर्माण गर्नुपर्ने उनको भनाइ थियो । “सकेसम्म अहिलेकै निर्माण कम्पनीले पुल बनाओस् भन्ने चाहना हो,” उनले भने, “यदि यस्तै ढिलासुस्ती हुन्छ भने सम्झौता तोडेर पुल बनाउन लाग्ने प्रयास रहन्छ।”
चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ३४ लाख रुपियाँ बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। छ वर्षसम्म पुल निर्माण कार्य अलपत्र पारेको ठेकेदार सम्पर्कमा आएकाले यो वर्ष पुल निर्माण हुनेमा आफू ढुक्क रहेको कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।













