संविधान दिवसको अवसरमा टीकापुर मुद्धाका राजबन्दी रिहा
कैलाली । संविधान दिवसको अवसरमा टीकापुर मुद्दा खेपिरहेका चार जना कैदीबन्दी आज रिहा भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर मुद्दाका ३ जना र पोखरा बाल सुधारगृहमा रहेका १ जना गरि ४ जना रिहा भएका हुन् ।
रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, जानकी गाउँपालिका–७ लट्कनियाका प्रदीप चौधरी र श्रवण चौधरीलाई रिहा गरेको थारु कल्याणकारिणी सभा कैलालीका का.बा. सभापति माधब चौधरीले जानकारी दिए । उनीहरू टीकापुर मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त भएका थिए ।
संविधान लेखनका क्रममा कैलालीमा अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनकारी बिरोधाभाष हुँदा ठूलो आन्दोलन भयो । अखण्ड सुदूरपश्चिमको माग गर्नेहरु साबिकको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने माग राख्दै आएका थिए भने । थरुहट आन्दोलनकारीहरुले कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै आन्दोलन चर्काएका थिए ।
सोही आन्दोलनको क्रममा २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल, एफएममा आगजनी भएको थियो ।
टीकापुर मुद्धामा प्रहरीले लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरीसहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो ।













