दाजुभाईले दिदीबहिनीकोलागि ब्रत बस्ने पर्व ‘अट्वारी’
कैलाली, ३१ भदौं । आदिवासी थारु समुदायले पुर्खौदेखि अट्वारी पर्व मनाउदै आईरहेका छन् । यो पर्वमा दाजुभाईले दिदीबहिनीको दीर्घायूको कामना गर्दै ब्रत बस्ने चलन छ ।
प्रचलित किम्वदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु छ ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।
समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो आइतबार अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउँछ । यो पर्वमा आइतबार भन्दा अघिल्लो राति (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ ।
व्रत बसेको दिन पूजा सकेर फलफूल विभिन्न प्रकारको रोटी मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ ।
‘फरहार’ मा बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई ‘फरहार’ भन्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।
अटवारी पर्वको अवसरमा प्रदेश सरकारले दियो विदा
अट्वारी पर्वयो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । को अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।
अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् । थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ ।













