कार्यविधि नबन्दा करोडौं खर्चेर निर्माण गरिएको सभागृह प्रयोगहीन
कैलाली, २६ भदौ । कैलालीको धनगढी उपमहानगरपालिकाले करोडौं खर्चेर निर्माण गरेको सभागृह प्रयोग विहिन बनेको छ । धनगढी–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको हो ।
सभागृह निर्माणमा साढे २८ करोडको लागत लागेको बताइएको छ । सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नबन्दा निर्माण सम्पन्न भएको एक वर्षदेखि अलपत्र छ ।
सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए ।
उक्त सभागृह डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ ।
सभागृहमा नौ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।













