सुवास नेम्वाङको निधन, राजनीतिक नेतृत्व शोकमा

काठमाडौं, २६ भदौं । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। गएराति साढे १ बजे उनलाई ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। चिकित्सकले मृत्यु भएको घोषणा गरेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो। ७१ वर्षीय नेम्वाङ एमाले संसदीय दलका उपनेता समेत हुन्। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले राजनीतिक दलका नेता तथा कार्यकर्ता स्तब्ध बनेका छन्।

उनको निधनले राष्ट्रपति लगायत राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवार, गणतन्त्र पक्षधर तथा पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेम्वाङको निधनको खबरले मर्माहत भएको जनाएका छन्। उनले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

यस्तै, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्। देउवाले सामाजिक सञ्जालमार्फत नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेम्वाङको खबरले स्तब्ध एवं मर्माहत भएको जनाएका छन्। भट्टराईले भनेका छन्, आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ, मैले आत्मीय मित्र गुमाएको छु।