अपराध गर्ने माओवादी नेतालाई छुट छैन : सचिव आचार्य

कैलाली, १७ भदौं । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले अपराध गर्ने माओवादी नेतालाई छुट नहुने बताए । उनले अभियान जनतालाई नभएर माओवादी आफै रुपान्तरण हुनकोलागि संचालन गरिएको बताए ।

आचार्यले तीन महिनेको उद्घाटनको क्रममा शनिबार धनगढीमा आयोजना कार्यक्रममा बोल्दै अभियानको क्रममा माओवादी नेताहरुको चिन्तन र व्यवहारमा लागेको मैला सफा हुने बताए ।

“जनतालाई रुपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताको चिन्तन र व्यवहार लागेको हिलोमैलो सफा गर्न पार्टीले अभियान संचालन गरेको हो” सचिव आचार्यले भने । माओवादी नेताहरु बिग्रिए भन्ने गुनासो गम्भीर रुपमा उठेको बताउँदै अभियानले माओवादी जनताको जिन्दगी अनुसार बाच्न सक्ने भन्ने पुष्टि अभियाने गर्ने बताए ।

आचार्यले परिवर्तनको नेतृत्व गरेको पार्टी भएकोले माओवादीलाई गल्ती गर्ने छुट नभएको बताए । उनले अपराध गर्ने नेता कार्यकर्ताहरुलाई पाता कस्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकोले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको आचार्यले बताए । उनले अहिलेको लडाइँ भ्रष्टाचार, कुशासन, लाहुरे संस्कृतिविरुद्ध भएको समेत बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिना मगरले समाजवादी क्रान्तिको लागि तीन महिने अभियान महत्वपूर्ण हुने दाबी गरिन् । उनले जनता र माओवादीबीचको सम्बन्ध २०६४ सालमा फर्किनुपर्ने बताइन् ।

उत्पीडित जाति, वर्ग, क्षेत्रको लागि आफूहरु ज्यान बाजी राखेर लडेर अहिलेको व्यवस्था आएको बताउँदै जनताको अवस्थामा बदल्न समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने बताइन् । उनले तीन महिने अभियानले समाजवादी क्रान्तिको लागि आधार तयार गर्ने विश्वास पनि व्यक्त गरिन् । बिनाले धनगढी उपमहानगरपालिकाका ८ वटा वडाको अभियान टोलीको प्रमुख हुन् ।

पार्टीका केन्द्रीय सदस्य दिपक साउदले दिपक साउद आलश्यता र निरासाबाट युवा पंक्तिलाई तीन महिने अभियानले मुक्त गर्ने बताए । उनले आफूहरु जनताको घरघरमा पुगेर मनमन बस्न सफल हुने विश्वास पनि व्यक्त गरे ।

धनगढी उपमहानगरपालिकाको अवस्थाको अध्ययन गरिसकेको बताउँदै साउदले व्यवस्था बदल्ने बेला जस्तै अवस्था बदल्ने अभियानमा जनताको साथ दिने बताए । उनले जनताले चाहेको नेपालको समृद्धि माओवादीको काधमा आएको समेत बताए ।

नयाँ र स्वातन्त्र व्यक्तिको नाममा देश र समाजको लागि कुनै लगानी नगरेका पात्रहरुलाई जबरजस्त ल्याइएको बताउँदै उनीहरुको असलियत जनताले छोटै समयमा बुझेको बताए ।

“परिवर्तन र जनताको लागि कुनै भूमिका नखेलेका केही पात्रहरुलाई जबरजस्त अगाडि ल्याइएको छ । हामी चुप लागेर उनीहरुको फुर्तीफार्ती भएको हो । खलनायकहरुलाई नायक र नायकलाई अपराधिकरण गर्ने विभिन्न भ्रमको खेती भइरहेको छ, त्यसबाट जनतालाई अलग राख्नुपर्छ” साउदले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य निर्मला बडालले केही विकास निर्माण तथा योजनाले मात्रै जनताको जीवन नउठ्ने बताइन् । त्यस्ता योजनाले मानिसहरुलाई नैतिक रुपमै सकिने बताउँदै सतर्क रहन आग्रह गरिन् ।

त्यस्तै, केन्द्रीय सदस्य लक्ष्मी बिकले धनी र गरिबबीचको खडल फराकिलो हुँदै गएको बताउँदै अब समाजवादी क्रान्ति सम्पन्न नगरी देश र जनताको भविश्य सुरक्षित नहुने बताइन् । उत्पीडितहरुसँग गरेको वाचा पूरा नभएकोले पुनः माओवादीहरु धुलो टकटकाउँदै अभियानमा हिडेको बताइन् ।

कार्यक्रममा धनगढी उपमहानगपालिकाका इन्चार्ज निर्मला शाहले आफूहरु आत्मसमिक्षा गरेर जनताको घरआगनमा पुगेको बताउँदै यसबाट उत्पन्न शंका र प्रश्न हटाउने बताए । माओवादी जनतामा फर्किन सक्दैन भन्नेहरुलाई तीन महिने अभियान जवाफ भएको समेत बताए । अभियानले जनता र माओवादीबीचको सम्बन्धलाई जोड्न विश्वास व्यक्त गरे ।