प्रधानमन्त्रीद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ
काठमाडौं, १६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुभारम्भ गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज सो अभियानको शुभारम्भ गरेका हुन् ।
नेकपा माओवादी पार्टी जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने सङ्कल्पका साथ तीन महिने अभियान सुरु गरिएको प्रधानमन्त्री दहालले बताए । उनले भने “नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरूले पुनः शिर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरुआत गर्न गइरहेका छौँ ।”
राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकाङ्क्षालाई ठोस रूपमा सम्बोधन गर्न सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्ने पार्टीको निर्णय रहेको उनले बताए ।
देशको ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको शुभारम्भ भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । “संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । इतिहासको यही अत्यन्तै गम्भीर, सङ्क्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौँ ।”













