आज गुरही पर्व, थारु समुदायले वर्षौदेखि बिदाको माग गर्दै आएपनि प्रदेशले सुनेन
कैलाली, ४ भदौं । आज पश्चिम नेपालका थारु समुदायले गुरही पर्व मनाउँदै छन् । विशेष गरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्ला र पछिल्लो समय काठमाडौँमा रहेका थारु समुदायले समेत भव्यताका साथ पर्व मनाउन थालेका हुन् ।
गुरही भन्नाले एक किसिमको गाइने किरा भन्ने बुझिन्छ । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।
आजको दिन घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने गर्दछन् ।
केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबिच केटाहरू सोटा लिएर जम्मा हुन्छन् ।
जम्मा भएका बालिकाहरू गुरही फाल्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।
कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।
यसैबिच कैलाली कञ्चनपुरका केही स्थानीय तहले आज स्थानीय बिदा समेत दिएका छन् । तर, सुदूरपश्चिम प्रदेश सरकारले भने आज बिदा दिएको छैन ।
थारु समुदाय आबद्ध संघ संस्थाले विगत एक दशक अगाडीदेखि नै विदाको माग गर्दै हरेक वर्ष ज्ञापन पत्र समेत बुझाउने गर्दछन् । तर सरकारले थारु समुदायको अवाजलाई व्यवास्ता गर्दै आएको थारु कल्याणकारीणि सभा कैलालीका काबा सभापति माधव चौधरीले बताए । उनका अनुसार यो वर्षपनि स्थानीय सरकार र प्रदेश सरकारमा विदाकोलागि ज्ञपनपत्र बुझाएको जानकारी दिए ।
हरेक वर्ष झै यो वर्षपनि थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाज लगायत संघसंस्थाको संयुक्त पहलमा धनगढीको गुरही चोकमा गुरही मनाउने तयारी हुदैछ ।













