कैलालीको जगतपुरमा १६ दिनदेखि बिजुली छैन
बिजुली नभएको भन्दै स्थानीयले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या पनि सुनाइसकेका छन्। मुख्यमन्त्री शाहले सहयोग गर्ने बताएको स्थानीय गौरीकान्त न्यौपानेले सुनाए।
कैलालीको जानकी गाउँपालिका-६ जगतपुरमा १६ दिनदेखि बिजुली आएकै छैन। यही साउन १५ गते चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किएपछि जगतपुर गाउँका सयौं परिवार १६ दिनदेखि बिजुलीबाट बञ्चित भएका हुन्।
जगतपुर गाउँमा करीब ८५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए। बर्खाको समयमा विद्युत् नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन्।
स्थानीय नन्दबहादुर न्यौपाने भन्छन्, “राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिंदैन। १६ दिन बित्दा पनि बत्ती आउने कुनै टुंगो छैन।”
बिजुली नहुँदा बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको र गर्मीले घरमा बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय समिरा चौधरी बताउँछिन्। “मेरा साना दुई बच्चा छन्। रातभरि सुत्न सक्दैनन्। गर्मीले छट्पटाउँछन्। गर्मीले घरमा बस्न सक्ने अवस्था छैन। साह्रै दुःख भयो,” उनले भनिन्।
बिजुली नभएपछि स्थानीयले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या सुनाइसकेका छन्। मुख्यमन्त्री शाहले पनि सहयोग गर्ने बताएको स्थानीय गौरीकान्त न्यौपानेले सुनाए।
“गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौं। सहयोग गर्छु भन्नुभएको छ,” न्यौपानेले भने।













