गर्भपतन प्रकरण : मेरी स्टोप्स सञ्चालक बिरुद्ध मुद्दा दर्ताको तयारी

कैलाली, २६ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिति थापा श्रीमानसंगको सल्लाहमा तीन महिना चार दिनको गर्भ पतनका लागि बिहीवार मेरी स्टोप्स सामुदायीक क्लिनिक पुगिन ।

क्लिनिक सञ्चालकले उनलाई एउटा औषधी दियो । त्यसको भोलिपल्ट बिहीवार दिउसो चार बजे थापा श्रीमान देब बहादुर थापासंग पुनः मेरी स्टोप्सको क्लिनिक गईन ।
क्लिनिक सञ्चालकले एकैसाथ चार वटा औषधी खुवाए । त्यसलगत्तै उनी बेहोस भईन । बेहोस भएकी थापालाई तत्काल प्रादेशिक अस्पतालमा लगियो । त्यहाँ उनलाई तत्काल आईसियुमा राख्न लगाईयो ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गर्भपतनका लागि खुवाएको अत्याधिक औषधीका कारण थापाको पाठेघर फुटेको र तत्काल अप्रेशन गर्नुपर्ने परिवारजनलाई बताए । परिवारजनले पनि ज्यान जोगाउन आवश्यक भएको भन्दै अप्रेशन गर्न सहमती दिदै सहमती पत्रमा हस्ताक्षर गरे । तर त्यतिबेलासम्म थापाको मृत्यु भईसकेको थियो ।

मेरी स्टोप्सका सञ्चालन बिनोद जोशी र उनकी पत्नी आशिका ओझाले औषधीको ओभर डोज दिएका कारण थापाको मृत्यु भएको परिवारजनको आरोप छ । परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । थापाको परिवारजनले क्लिनिक सञ्चालकमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्न लागेको बताए ।

मृतकका आफन्तले क्लिनिक सञ्चालकहरुको लापरबाहीले थापाको ज्यान गएको आरोप लगाए । उनीहरु हदैसम्मको कारबाही गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएक हुन् । आफन्तका अनुसार क्लिनिकले औषधीको बील पनि दिएको छैन के खुवाईयो आफूहरुलाई कुनै जानकारी नभएको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले मृतक थापाका आफन्तसंग छलफल भईरहेको बताए । उनले क्लिनिक सञ्चालक जोशीलाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाईएको जानकारी दिए ।