बर्खामा भजनीबासीको पीडा : प्रत्येक वर्ष सडकमा बास

कैलाली, २५ साउन । सोमबार रातिदेखि लगातार परिरहेको वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न भएको छ । घर डुबानमा परेपछि यहाँका स्थानीय दुईदिनदेखि सडकमा बास बस्नु परेको हो ।

भजनी क्षेत्र बाढीको अति जोखिम क्षेत्र हो । यहाँ हरेक वर्ष बाढीले ठूलो क्षति हुन्छ । यो वर्षपनि कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरू डुवानमा छ । करिब एक हजारको संख्यामा रहेका यहाँका नागरिकहरू प्रभावित भएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले जानकारी दिए ।

उनका अनुसार घर डुवान भएपछि यहाँ अधिकांश स्थानीय हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेका छन् । भजनी वडा नम्बर ३, ८, ५ र ७ का बस्ती पानीले भरिएका छन् । उनीहरु अहिले निकै समस्यामा रहेको मेयर चौधरी बताउँछन् ।

मोहना, कन्द्रा, काँढा र पथरैया नदीले स्थानीयलाई प्रत्येक वर्ष दुःख दिँदै आइरहेको छ । ‘पालिकाको आधा भन्दा धेरै भूगोल बाढीको प्रकोपमा छ’ मेयर चौधरीले भने ‘यो अहिलेको मात्रै समस्या होइन प्रत्येक बर्ष यहि नियति नागरिकहरूले झेल्न बाध्य छन् ।’

नदीमा पानीको सतह कति बेला बढ्ने कति बेला घट्ने भएकोले अग्लो घर भएका केही स्थानीय अझै पनि घरमै असुरक्षित छन् । उनीहरुको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा रहेको मेयर चौधरीले जानकारी दिए ।

स्थानीय जोगुराम चौधरी भन्छन् ‘ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौँ, हामी त जोगियौँ तर, घरमा कुनै पनि सामान ल्याउन सकेनौँ ।’

यहाँका स्थानीयलाई साउन भदौ र असोज तीन महिना निकै सकस हुन्छ । घरभित्र राखेको अन्न हरेक वर्ष बाढीले बगाउँछ । उनीहरूलाई कति बेला झरी पर्छ र विस्थापित हुनु पर्छ भन्ने पिरले सताइ रहन्छ ।

चौधरी भन्छन् ‘हामीलाई तीन महिना धेरै समस्या हुन्छ । जेनतेन हामी बाच्यौँ तर, लत्ताकपडा र घरभित्र भण्डारण गरेको अन्न जोगाउन सक्दैनौँ ।’

कनैयापुरकी जोगवनी चौधरीले आफूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेर सडकमा ल्याएको बताउँदै भन्छिन् ‘घरमा रहेका लत्ता कपडा बाढीले बगायो म जस्ता कयौँ व्यक्तिले आफू जोगिए पनि सम्पत्ति जोगाउन सकेनौं ।’

विपद् क्षेत्रमा अनुगमन

बुधबार सभामुख भीम भण्डारी सहित मन्त्री र प्रदेश सभा सदस्यहरूले भजनी क्षत्रको अनुगमन गरेका छन् । भजनीको बिभिन्न क्षेत्रमा पुगेको टोलीलाई स्थानीयले आफूहरूका लागि दिगो व्यवस्थापन गर्न आग्रह गरे ।

यसअघि पनि अनुगमन गर्ने तर व्यवस्थापन नहुने समस्याले आजित भएको भन्दै आगामी दिनमा त्यस्तो नगर्न स्थानीयको माग थिए ।

सभामुख भण्डारी सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सांसदहरू ललिता सुनार, खेमा विष्ट, इन्दिरा गिरी, डा. तारा जोशीले प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

निरीक्षण पछि सभामुख भण्डारीले तत्काल उद्धारमा खटिन सबै निकायलाई निर्देशन दिएका थिए । दिगो व्यवस्थापनको योजना ल्याउन पनि सरकारसँग समन्वय गर्ने सभामुख भण्डारीले प्रभावितहरुलाई अश्वासन दिए ।

भोकभोकै सडकमा बास

बाढी प्रभावितलाई जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायतको टिमले उद्धार गरेर उच्च ठाउँमा व्यवस्थापन गरेपनि उनीहरुलाई पानी र सुख्खा खाजा बाहेक केही बाँडन सकेको छैनन् ।

विस्थापितहरु भोकभोकै सडकमा बस्न बाध्य छन् । घर भित्रको अन्न सबै बाढीले बगाएपछि उनीहरु भेकै सडकमा बसेको स्थानीय चम्की थारुले बताउँछिन् । उनी भन्छिन् ‘कहीँ कतैबाट हालसम्म कुनै राहतको सामान आएको छैन । पानी र सुख्खा खाजा नगरपालिकाले बाँडेको हो ।’